सुदूरपश्चिम प्रदेशका थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा १ सय १ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ९५ नमूना परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप २० जनामा संक्रमण देखिएको जानकारी दिए ।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ४ जना, टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिकाका ३÷३ जना, गौरीगंगा नगरपालिका र लम्किचुहा नगरपालिकाका १÷१ जनामा समेत संक्रमण पुष्टि भएको छ । उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका १७ जना, दोधारा चाँदनी नगरपालिकाका ७ जना, बेदकोट नगरपालिकाका ४ जना, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका २÷२ जनामा संक्रमण देखिएको छ ।
यसैगरी बैतडीका ३ जना र डोटीका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उता अछामको कमलबजार प्रयोगशालामा भएको परीक्षणमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार मंगलसेन नगरपालिकाका १९ जना, सुर्खेतको बिरेन्द्रनगर नगरपालिकाका २ जना, कमलबजार नगरपालिका, बान्नीगढी जयगढ, आठबिस, चौरपाठी गाउँपालिका र कैलालीको घोडाघोडीका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बझाङ जिल्ला अस्पतालको प्रयोशालामा ३ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ४ पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार १ सय ६ जना डिस्चार्ज भएका छन ।