गत साउन १४ गतेको बाढीका कारण लगाएको धानबाली नष्ट भएका कैलालीको भजनीका किसान सामुदायिक छाडा पशु चौपायाले हिउँदेबाली पनि नष्ट गर्न थालेपछि चिन्तामा देखिएका छन्।
खेतमा लगाएको हिउँदेबाली सामुदायिक छाडा पशु चौपायाले नष्ट गर्न थालेपछि किसान आजित बनेका हुन्। ऋण कर्जा गरेर लगाएका अन्नबाली पशुले खाइदिएपछि आफूहरुको लगानी व्यर्थ गएको किसान रुपेश साउद बताउँछन् । “वर्षात्मा बाढीले धानबाली नष्ट गर्यो।
अहिले छाडा पशु चौपायाले”, रुपेशले भने, “कसरी परिवार पाल्ने ? घर खर्च कहाँबाट जोहो गर्ने ?” उनले भजनीमा रहेका छाडा चौपायालाई नगरपालिकाले व्यवस्थापन गर्न नक्दा आफूहरुले धेरै सास्ती खेप्नुपरेको बताउँदै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि लाखौँ रकम वर्षेनी खर्च गर्ने भएपनि किसानलाई भने त्यसको प्रभाव नपरेको बताए।
भजनी नगरपालिका किसान प्रभुनाथ पाण्डेले चौपायाले लगाएको अन्नबाली पाक्दासम्म पूरै नष्ट गर्ने गरेको बताए। “हाम्रो समस्यालाई नगरपालिकाले ध्यान दिएको छैन। हामीहरुले बालीनाली उत्पादन गर्न पैसा खर्च गरी खाद मलको व्यवस्थापन गरेका हुन्छौँ”, पाण्डेले भने, “तर चौपायाले सबै लगाएको अन्न तथा तरकारी बाली नष्ट गरिरहेको छन्। हाम्रो समस्याको समाधान जसरी पनि तत्काल नगरपालिकाले गर्नुपर्छ।” किसान नीरमाया डगौराले आफूहरुले लगाएको बालिनालीको फाइदा त के लगानी पनि नउठ्ने गरी चौपायाले नष्ट गरेको बताइन्।
“हामी वर्षभरि श्रम खर्च गरी खेतबारीमा मेहेनत गरी उत्पादन गर्छौँ। तर चौपायाले गर्दा हामीले गरेको श्रम खेर जाने गरेको छ”, निरमायाले भनिन्, “नगरपालिका छिटोभन्दा छिटो हामी किसानको समस्यालाई समाधान गर्नुपर्छ।”
गीतादेवी चौधरीले बालिनालीको सुरक्षाका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बताइन्। “राति चिसोको समयमा पनि खेतमा लगाएका बालिनालीको सुरक्षाका लागि पनि खेतमै जान्छौँ, त्यहीँ बस्छौँ”, चौधरीले भनिन्, “रातिको समयमा डरैडरमा खेतमा बस्नुपर्ने हुन्छ। अब सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनका लागि नगरपालिकाले तत्काल काम गर्नुपर्छ।” उता भजनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापनका लागि नगरपालिकाको वडा नम्बर २ को रजवारा, वडा नम्बर ७ को चर्रा, वडा नम्बर ९ को पछमुडिया र वडा नम्बर १ को भजनीमा गौशाला निर्माण गरिएको बताए।
उनले किसानकै कारण सामुदायिक छाडा पशु चौपाया बढ्दै गएको बताए। कृषिमा भएको आधुनिकीकरणले किसान आफैँले पालेका चौपाया छाडा छाड्ने गरेका छन्।” निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने, “नगरपालिकाको अहिलेसम्म सामुदायिक छाडा पशुचौपाया व्यवस्थापनमै ५० लाखभन्दा बढी खर्च भइसकेको छ । यो समस्या नगरपालिका एक्लैले समाधान गर्न सम्भव देखिएको छैन।”
कैलालीको जानकी गाउँपालिकामा भने पहिलेको भन्दा सामुदायिक छाडा पशुचौपाया नियन्त्रणमा आएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी बताउँछन्। अध्यक्ष चौधरीले चालु आर्थिक वर्षमा १० देखि १५ लाख रुपैयाँ आउँदो कार्यपालिकाको बैठकबाट विनियोजन गर्ने निर्णय गरिने बताए। “अहिले गौशाला भएको क्षेत्र दुई वटा नदीका बीच टापुमा छ। नदी तरेर चौपायालाई आउन गाह्रो हुँदा पनि किसानको खेती जोगिएको छ”, अध्यक्ष चौधरीले भने, “त्यहाँ संरचना निर्माण गर्दा धेरै खर्च हुने देखिएको छ। वर्षात्को समयमा आवतजावतमै कठिन हुन्छ। तर पनि व्यवस्थित गौशाला निर्माणका लागि हामी छलफलमै छौँ।”
गौशालाको दीर्घकालीन व्यवस्थापन गर्नसके त्यसले किसानलाई धेरै राहत पुग्ने सामुदायिक पशु चौपाया व्यवस्थापन समिति जानकी गाउँपालिकाका सचिव अविलाल सलामीमगरले बताए। उनले सामुदायिक वनभित्र अहिले पनि दुई हजारभन्दा बढी सामुदायिक छाडा पशु चौपाया रहेको बताउँदै गौशालामा करिब ३ सय चौपाया व्यवस्थापन गरिएको बताए। “स्थानीय गाउँमा देखिने छाडा चौपाया गौशालामा लिएर आउँछन्। त्यसलाई हामीले यहाँ व्यवस्थापन गर्ने गरेका छौँ”, सचिव सलामीमगरले भने, “गाउँपालिकाले चौपाया व्यवस्थापनका लागि राम्रो सहयोग गरेको छ जसका कारण अहिले किसानले चौपायाको सास्तीबाट केही छुटकारा पाएका छन्।” रासस