चिसो बढेपछि सामुदायिक वनमा दाउराको माग बढेको छ । चिसोमा यहाँ दाउराको बढी खपत हुन्छ तर सामुदायिक वनले उपभोक्ताको मागअनुसार दाउरा उपलब्ध गराउन समस्या भएको छ । अझैपनि घरायसी प्रयोजनमा इन्धनका रूपमा दाउराको प्रयोग गर्नेको सङ्ख्यामा कमी हुनसकेको छैन । अन्य मौसममा भन्दा जाडो मौसममा सहरीभन्दा ग्रामीण वस्तीमा दाउराको प्रयोग धेरै भइरहेको हुनाले यो समयमा दाउराको खपत बढ्दै गएको छ ।
चिसो मौसममा अधिकांशले इन्धन शक्तिका रूपमा दाउरा प्रयोग गर्दछन् । जाडो मौसममा दाउराबाट खाना पकाउनुका साथै ताप्नका लागि थप दाउराको आवश्यकता पर्ने भएकाले जाडो मौसममा दाउराको माग अधिक हुने गरेको शीतल सामुदायिक वनका अध्यक्ष सिद्धराज ठकुल्लाले बताए । “ग्यासको प्रयोगमा खाना पकाउनेहरू पनि चिसो मौसममा दाउराकै प्रयोग गर्छन्, दाउरा चिसोमा ताप्नका लागि पनि आवश्यक पर्छ”, अध्यक्ष ठकुल्लाले भने, “वर्षभरि दाउरा नकिन्नेहरू पनि जाडो मौसममा दाउराको माग गर्छन् तर हामीलाई उपभोक्तालाई दाउरा पुर्याउन कठिन छ ।”
सहरी क्षेत्रमा इन्धन स्रोत र शक्तिका रूपमा एलपी ग्यास, इलेक्ट्रिक वस्तुको प्रयोग गरेपनि ग्रामीण क्षेत्रमा त्यसको उपयोग न्यून मात्रामा हुँदा दाउराको माग घट्न सकेको छैन । गाउँघरमा मात्र होइन, सहरबजारमा पनि जाडो मौसममा ताप्नका लागि पनि दाउरा सबैलाई उत्तिकै आवश्यकता पर्ने गरेको ठकुल्लाको भनाइ छ । “दाउराको माग घट्नेवाला छैन, बर्सेनि माग बढ्दै गएको छ”, उनी भन्छन्, “त्यसैले वन संरक्षण, वृक्षरोपणजस्ता कार्यमा ध्यान दिन आवश्यक छ । वन पैदावार हामी सबैलाई चाहिन्छ ।” खाना पकाउन, जाडो मौसममा बाल्न, ताप्नका लागि मात्र नभई आपत्विपत्, विशेष परिस्थिति, पूजापाठ, भैपरी आउने आवश्यकताका बेला सहज रूपमा काठ उपलब्ध हुनुपर्दछ तर दिनानुदिन दाउराको माग बढ्दै जाँदा यस क्षेत्रका सामुदायिक वनले पूर्ति गर्न सकेका छैनन् । विभिन्न सामुदायिक वनले वन समितिको निर्णयानुसार समय र आवश्यकताका आधारमा उपभोक्तालाई दाउरा वितरण गर्ने गरेका हुन्छन् ।
वनमा दाउराका लागि प्रयोग हुने उपलब्ध काठपातको व्यवस्था गरी वितरण भइरहेको शीतल सामुदायिक वनका सचिव रामबहादुर सेठ्ठीले बताए । “सधैँभरि दाउरा उपलब्ध गराउन सकिँदैन, चिसो समयमा बढी आवश्यकता हुने भएकाले वन समितिको निर्णयानुसार उपलब्ध गराउने गरेका छौँ”, उनले भने, “उपभोक्ताका समस्या ध्यानमा राख्नु सामुदायिक वनको समेत जिम्मेवारी हो तर दाउरा सधैँ अभाव हुन्छ ।” सामुदायिक वन भएकाले उपयोगितासँगै संरक्षण गर्नु वन समितिका पदाधिकारी र उपभोक्ताको दायित्व हो । वनमा दिनानुदिन दाउरा माग धेरै आउने भएकाले संरक्षित वनमा कटानी गरी दोहन मात्र नभई संरक्षणका लागि बर्सेनि वृक्षरोपण कार्य गर्न आवश्यक रहेको उनीहरू नै बताउँछन् । कैलाली जिल्लामा ५७६ सामुदायिक वन छन् । तीमध्ये महिलाले मात्र नेतृत्व गरेको ६४ सामुदायिक वन छन् । अझपनि झण्डै १५० सामुदायिक वन प्रस्तावित अवस्थामा नै छन् ।
चिसो मौसममा अधिकांश वनमा दाउराको अभाव भएको छ । “हरेक वर्ष दाउरा अभाव हुन्छ । सामुदायिक वनले वन संरक्षणसँगै वृक्षरोपणजस्ता कार्यमा ध्यान दिनुपर्छ”, संरक्षणकर्मी जयप्रसाद ढुङ्गाना भन्छन्, ‘‘हरेक बगर, नदी किनार र सामुदायिक वनका हरेक खाली जमिनमा उपभोक्तालाई दाउरा उपलब्ध हुनसक्ने खालका बिरुवा रोप्न सामुदायिक वनले योजना बनाएर काम गर्नुपर्छ ।” उपभोक्ता गीता कठरिया वन पैदावारजस्तै दाउरा, घाँस बढी महिलालाई चाहिने भएकाले महिलालाई एउटा रुख काटे पाँच रुख रोप्नुपर्छ भन्ने सिकाउन आवश्यक रहेको बताउँछन् । “सामुदायिक वनले बर्सेनि दाउरा बिक्री गर्ने तर वृक्षरोपणमा ध्यान दिएको देखिँदैन”, उनी भन्छन्, “तर महिलाले नेतृत्व गरेका वन हराभरा छन् । हराभरा बनाउन सके पो भविष्यमा सहजै दाउरा पाइएला ।”