सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई पुनः एक पटक केन्द्रदेखि प्रदेशसम्म निर्णायक ठाउँमा उभ्याएको छ । प्रतिनिधि सभा विघटनपछि नेकपामा केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूह अलगिनुको प्रत्यक्ष असर प्रदेश सरकारमाथि पनि परेको छ । यतिबेला नेकपाले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश सरकार हटाउने र जोगाउन कसरत तिव्र छ । तर ‘चाबी’ काँग्रेसको हातमा छ ।
यता प्रदेश सरकार हटाउने वा जोगाउने सन्दर्भमा काँग्रेस कत्ता ‘क्लियर’ को तहमा पुगेको छैन । सुदूरपश्चिममा अहिलेसम्मको अवस्थामा प्रचण्ड र नेपाल पक्षका मुख्यमन्त्री केही सुरक्षित देखिएका छन् । तर ढुक्क हुने अवस्था छैन । सुदूरपश्चिम प्रदेशमा नेकपाका ३९, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना गरी ५३ सांसद छन् । सुदूरपश्चिममा प्रचण्ड–नेपाल पक्षधर मजबुत छ । यद्यपी ओली समूहले चलखेल बढाएको छ । यस अघि ओली पक्षमा पदमुक्त गरिएका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहोरा सहित तीन जना मात्रै खुलेर लागेका थिए । पछिल्लो समय ओली पक्षधरमा खुल्ने प्रदेश सांसदको संख्या आठ पुगेको बताईन्छ ।
प्रचण्ड–नेपाल पक्षधर रहेका त्रिलोचन भट्ट नेतृत्वको वर्तमान सरकार परिवर्तन गर्न २७ सांसदको आवश्यकता पर्छ । हाल प्रदेश सभामा नेपाली काँग्रेसका १२ र राजपाका दुई सांसद छन् । काँग्रेस र जसपाका सांसदहरू एक भएर वर्तमान सरकार फेर्न पनि ओली समूहलाई १३ जना सांसदको आवश्यकता पर्छ । ओली समूहमा १३ जना सांसद नपुग्ने विश्लेषण सहित वर्तमान सरकार ढुक्क देखिन्छ । तर ओली समूह भने सरकार ढाल्न पुग्ने संख्या पुर्याउने कसरतमा छ ।
समीकरणबारे के छ काँग्रेस नीति ?
काँग्रेस नेताहरुका अनुसार ७ पुसबाट जारी केन्द्रीय कार्य समिति बैठकबाट केन्द्रदेखि प्रदेशसम्मको समीकरणबारे नीति लिने छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणले यस विषयमा जारी केन्द्रीय समितिले नीति अख्तियार गर्ने बताए । यस्तै काँग्रेस केन्द्रीय सदस्य एवं संघीय मामिला तथा प्रदेश समन्वय विभागका प्रमुख रमेश रिजालले उपयुक्त मौकामा निर्णय काँग्रेसले निर्णय लिने बताए ।
उनले भने, ‘केही प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । तर त्यसको प्रक्रिया पूरा गर्न समय लाग्ने छ । योबीचमा प्रदेशसभाको यथार्थ विश्लेषण गर्छौं । अनि उपयुक्त मौकामा निर्णय दिन्छौँ ।’ तत्काललाई प्रदेशमा उत्पन्न विवादमा काँग्रेस तटस्थ बस्ने उनको भनाई छ । प्रदेशमा प्रदेश सरकारमा प्रचण्ड–नेपाल कि ओलीसँग तालमेल गर्ने भन्नेमा काँग्रेस अलमलमा छ ।
संवाद भने दुवै पक्षसँग भईरहेको बुझिएको छ । नेकपाभित्रको विवादमा पर्ख र हेरको रणनीति बनाएको काँग्रेस प्रेदशमा सत्ता साझेदारका रुपमा मात्र सामेल हुने मुडमा छैन । त्यसैले अहिले कुनै पक्षमा रुपमा आफूलाई नउभ्याउन सभापति शेरबहादुर देउवाले प्रदेश संसदीय दलका नेतालाई सन्देश पठाइसकेको बुझिएको छ ।
प्रदेशमा के भयो ?
ओली र प्रचण्ड–नेपाल मध्ये कसलाई साथ दिने भन्नेमा काँग्रेसमा अलमल देखिए पनि उनीहरुबीच कारबाही प्रक्रिया तीव्र छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोरालाई पदबाट हटाएका छन् । नेकपामा आएको विभाजनसँगै ओली पक्षधर रहेका बोहरालाई मंगलबार बिहान जिम्मेवारीबाट हटाइएको थियो ।