धनगढीमा प्रधानमन्त्री आउने भएपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा
2021/01/06, 11:15
 
kp

प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । धनगढीमा पुस २४ गते कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था आजैदेखि कडा पारिएको हो । पार्टी विभाजनपछि पहिलोपटक उपत्यकाबाहिर आउन लागेका प्रधानमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गत पुस ५ गते संसद विघटन गराएर प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीमार्फत वैशाखमा आम निर्वाचन गर्ने घोषणा गराएका थिए ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले प्रधानमन्त्रीको सुरक्षाका लागि थप प्रहरी परिचालन हुने बताए । ‘संसद विघटनपछि प्रधानमन्त्री पहिलो पटक उपत्यका बाहिर आउदै हुनुहुन्छ । अहिलेको परिस्थीतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउछौ,’ सुवेदीले खवरकुञ्जलाई भने । 
प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुष २४ गते करीव एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने बताईएको छ । 

जिल्ला सुरक्षा समिति कैलालीले पनि प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घट्ना हुन नदिन रणनीति बनाउदै छ । प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय हाई अलर्ट गरिएको छ ।