धनगढीबाट राराका लागि पहिलो उडान, यस्तो छ प्याकेज
2020/11/06, 10:29
 
yatra

नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल घुम्नेहरुका लागि धनगढी–ताँल्चा उडान सुरु भएको छ । आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै समिट एयरले आजदेखि धनगढी–ताँल्चा उडान सुरु गरेको हो । रारा ताल घुम्नेहरुलाई लक्षित गर्दै आजदेखि यो उडान सुरु भएको हो । 

1

सुदूरपश्चिमका पहाडी जिल्लाहरु अछाम, बैतडी, डोटी र मंगलसेनमा धनगढी वेस भएर उडान भर्दै आएको समिट एयरले धनगढी–ताँल्चा उडान पनि थपेको हो । आज पहिलो दिन १८ जना रारा घुम्ने यात्रु लिएर समिट एयरको धनगढी–ताँल्चा उडान भएको राराका लागि धनगढी प्रतिनिधि दिपक बमले  जानकारी दिए ।

1

रारा घुम्न चाहनेहरुको रहरलाई पुरा गर्नका लागि यो उडानले सहज पारेको छ । हवाई यात्रासँगै दुई दिन र एक रातको खाना आवास सहितको सुविधा पनि दिईएको बमले बताए । उनका अनुसार हप्तामा एक उडान धनगढी–ताँल्चा हुनेछ । 

1

मुगुको ताँल्चा विमास्थलबाट दुई घण्टाको पैदल यात्रापछि रारा पुग्न सकिन्छ । खाने वस्ने सहितको यात्रा २३ देखि २५ हजारसम्मको प्याकेजमा ल्याउने गरी उडान थालिएको हो । पहिलो दिनको उडानमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर सहित संघका पदाधिकारीहरु र उनीहरुका परिवारका सदस्यहरु, बैंकर लगायतका १८ जना रारा घुम्न गएका छन् ।

1

यसअघि नेपालगंज भएर वा काठमाण्डौं लगायत भएर रारा जानका लागि हवाई यात्रा गर्नुपर्ने वा सडक बाटो भएर जानुपर्ने अवस्था रहेको थियो । धनगढी–ताँल्चा हवाई सेवा सुरु भएसँगै अब धनगढीमा सहज रुपमा आनन्दमयी राराको यात्रा गर्न सकिने युवा पर्यटन व्यवसायी तथा राराका लागि धनगढी प्रतिनिधि दिपक बमको विश्वास रहेको छ । 

1

किन घुम्ने रारा ? 
नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए । राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको पुरानो किम्बदन्ती छ ।

2

1

समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेको छ । रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ । यही तालको पुरा आकृति हेर्नको लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ । 

2

2

रारा नजिकैको छातीमा फैलिएको घाँसेमैदान, कोणधारी हरियो वन, चारैतिर ठूलो चौर, माथि नीलो आकाश, उत्तरतर्फ लस्करै हिमशृंखला, झरना अनि चिसो सिरेटोसँगै लुकामारी खेलेका सेता बादलको घुम्टोमुनि मनोरम दृश्यले सबैको थकान भुलाइदिन्छ ।
रारा छेउमै पुग्दा पनि अझै ‘कस्तो होला रारा ताल ? ’ मनमा कौतुहलता चलिनै रहेको हुन्छ । सल्लाघारीको बीचबाट विशाल गोरेटो छ ।

2

2

जंगलभित्र छिर्न कठिन हुने बुट्टयानहरूका साथमा रूखका हाँगाहाँगासम्म फैलिएका सुकेका लेउहरू । झाडीका बीचमा आउने झ्याइँकिरीको आवाजसँगै जंगली संगीतले साउती गर्दछ । झन्डै ३० मिनेट पैदल हिँडेपछि एउटा नसोचेको दिव्य संसार आउँछ । त्यही हो रारा । त्यसमा पनि राराले फेर्ने विभिन्न रुपले पनि सबैको मन तानेको हुन्छ ।

रारा जान उपयुक्त समय कहिले
रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म १ मिटरसम्म हिउँ पर्ने हुदाँ यहाँको तापक्रम शुन्य भन्दा पनि तल हुने भएकोले यो समयमा उपयुक्त हुँदैन । तालको पानी पनि जमेको जस्तो देखिन्छ । तर, नेपालीहरु दसैं तथा तिहारको बीचमा बढी घुम्न जाने गरेका छन् । जेठदेखि आसोजसम्मको मौसममा बिभिन्न फूलहरू पहिरिएर स्वर्गकी अप्सरा झैं देखिने रारा तालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएको छ । सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर बस्दा त वर्णन गर्ने शब्द नै नभएको महसुस हुन्छ । 

2

2

रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ । रारा ताल जानका लागि बर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि मानिसहरु जाने गर्छन् । रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करीब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल हो । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदुरपश्चिमका ६ वटा जिल्ला समेत देख्न सकिन्छ । रारा तालको किनारै किनार पुरै एक फन्को मार्न ५ घण्टा लाग्छ ।