जनकको संघर्षः बैतडीदेखि खो खो विश्वकपसम्म
2025/01/27, 5:37
 
dd

नेपाली सेनामा जागिरे नहुँदासम्म दशरथचन्द नगरपालिका–४, जर्गाउँका जनक चन्द बैतडी सदरमुकाम आसपासका क्षेत्रमा खेलकुद गतिविधिहरूमा सहभागी भइरहन्थे । ०७० मा नेपाली सेनामा भर्ना भएको दुई वर्षपछि खो खो खेल्न थालेका उनका लागि आइतबार विशेष दिन बन्यो । नेपाली टोलीले खो खो विश्वकपमा फाइनल जित्न नसके पनि उत्कृष्ट प्रदर्शन गर्यो । चन्द सेमिफाइनलमा उत्कृष्ट खेलाडी बने । फाइनलमा पनि नेपाली टोलीका लागि उनले विशेष योगदान गरे । फाइनल भारतले जित्यो भने नेपालले उपविजेतामा चित्त बुझाउनु पर्यो ।

विश्वकपमा खो खो फाइनल खेल्न पाउनु जीवनकै अविश्मरणीय क्षण रहेको जनकले बताए । ‘हामीले राम्रो प्रदर्शन गर्यौँ । भारत बलियो टिम भए पनि कडा टक्कर दियौं,’ उनले भने ‘यसको मुख्य श्रेय बुबार र परिवारलाई दिन्छु । परिवारको सहयोग, नेपाल आर्मी क्लब र नेपाल खो खो संघ नभएको भए म यहाँसम्म आइपुग्ने थिइन होला ।’ नेपाली सेनामा खो खोसँगै उनले क्रिकेट, बास्केटबल खेल्दै आएका छन् । खो खो राष्ट्रिय टिमका उपकप्तान चन्दले दिल्लीबाट फोनमा भने, ‘खेलमा हार जित हुन्छ, विश्वकप फाइनल खेल्नु नै हाम्रो लागि ठूलो उपलब्धि हो ।’

बैतडीको वीरेन्द्र माविमा पढ्दै गर्दा सानैदेखि एथ्लेटिक्स, क्रिकेटलगायत खेलमा उनको रुची थियो । उनले जिल्लाका विभिन्न क्रिकेट प्रतियोगिता र एथ्लेटिक्सका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै क्षेत्रीय र राष्ट्रिय स्तरसम्म खेलिसकेका थिए । जनकले बैतडीबाट ०६२ सालमा यु–१३ क्षेत्रीय क्रिकेट प्रतियोगिता, नेपालगञ्जमा सहभागीता जनाएका थिए । त्यसपछि यु–१९ सम्म चार चोटी राष्ट्रियस्तरमा समेत क्रिकेट खेले । उनका बुबा रणबहादुर चन्द नेपाल आर्मी क्लबबाट भलिबल र हाइजम्प खेलाडी रहेकाले खेल क्षेत्रमा बुबाको ठूलो प्रेरणा रहेको उनले बताए ।