हेलिकोप्टर मार्फत हिउँले ढाकिएको खप्तड घुम्नका लागि बुकिङ खुल्यो, यस्तो छ प्याकेज
2021/01/10, 12:20
 
khaptad

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्रमा हेलिकप्टर मार्फत घुम्ननका लागि बुकिङ खुल्ला भएको छ । सुदूरपश्चिमको राजधानी धनगढी, साविक क्षेत्रीय सदरमुकाम दिपायल र डोटीको झिग्रानाबाट हेलिकोप्टर मार्फत हिउँले ढाकिएको खप्तड घुम्नका लागि प्याकेज सहितको बुकिङ खुल्ला भएको हो । 

1

माउण्टेन एयरसंग सहकार्य गर्दै खप्तड घुम्नका लागि ल्याईएको प्याकेज अनुसार हिउँमा हेलिकप्टर मार्फत यात्रा गर्न बुकिङ सुरु गरेको धनगढीका पर्यटन व्यवसायी दिपक बमले जानकारी दिए । उनले साढे २१ हजारमा धनगढी हुदैं आवासको सुविधाको साथमा खप्तड घुम्न पाईनेछ । पर्यटन प्रवद्र्धनका लागि ल्याईएको प्याकेजका लागि बुकिङ सुरु भएसँगै घुम्न जानका लागि नामहरु समेत दर्ता हुन थालेको पर्यटन व्यवसायी बमले बताए । 

2

धनगढी पर्यटन व्यवसायी बमसँगै खप्तड होमस्टे झिङग्रानाका सञ्चालक तथा पर्यटन व्यवसायी दीपक बहादुर खड्काले हेलिकप्टर टुरका लागि बुकिङ गरिरहेका छन् । माघ १४ गतेदेखि माघ १८ गतेसम्म  ५ दिनका लागि  दिपायल डोटीमा हेली बेस रहने गरी खप्तड घुमाईने छ । त्यसका लागि खड्काले माउन्टेन हेलिकप्टर प्रालिका जनरल म्यानेजर दिलबहादुर वली र मार्केटिङ म्यानेजर सन्दिप भण्डारीसंग शनिबार दिपायलमा छलफल समेत गरेका छन् । त्यही छलफलपछि बुकिङ खुल्ला गरिएको हो । 

कस्तो छ प्याकेज ? के के छन् सेवा सुविधाहरु ? 
आगामी माघ १४ गतेदेखि माघ १८ गतेसम्म  ५ दिनका लागि हिउँले भरिएको खप्तडमा हेलिकप्टर मार्फत घुमाईनेछ । त्यसका लागि धनगढीदेखि साढे २१ हजारको प्याकेज बनाईएको छ । धनगढीको प्याकेज अन्तर्गत धनगढी विमानस्थलदेखि दिपायल विमानस्थलसम्मको हवाई भाडा, एक रात झिग्रानाको वसाई र फर्किदा शैलेश्वरी मन्दिरमा दर्शन गरेर फेरि दिपायल हुदैं धनगढीसम्मको हवाई भाडा समावेश गरिएको छ । यसमा खाना तथा नास्ता पनि समावेश गरिएको छ । 

2

दिपायलबाट १० हजार र झिग्रानाबाट ८ हजारमा झिग्रानाबाट ८ हजारमा हिउँले ढाकिएको खप्तड घुम्न पाईने होमस्टेका सञ्चालक दिपक खड्काले जानकारी दिए । उनका अनुसार दिपायलबाट हेलिकप्टर मार्फत झिग्राना, झिग्रानामा एक रात वसाईपछि अर्को दिन खप्तडको यात्रा र फर्किदा शैलेश्वरीको दर्शन गराईनेछ । यसमा झिग्रानाबाट चढ्ने र झर्नेहरु भने शैलेश्वरी दर्शनको प्याकेजमा समावेश हुने छैनन् । 

किन घुम्ने खप्तड ? 
खप्तड प्राकृतिक सौन्दर्यको खानी हो । खप्तडमा २२ वटा पाटन र ५३ वटा थुम्काहरू तथा त्यहाँको सौन्दर्यले खप्तड भूस्वर्गझैं लाग्छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा परिचित छ । खप्तडले हिउँको घुम्टो पाएपछि झनै अलौकिक देखिन्छ । 

2

समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । खप्तड पुसको मध्यदेखि नै सेताम्मे हिउँले ढाकिन्छ भने जेठदेखि असारसम्म विशाल फाँटहरूमा रंगीचंगी फूलले ढाकिन्छ ।