सुदूरपश्चिमका मुख्यमन्त्री राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अनुपस्थित !
2021/01/16, 9:29
 
raajnitini

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षता गर्ने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको बैठकमा पुष्पकमल दाहाल–माधव नेपाल समूहका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट  उपस्थित नभएका हुन् ।

उनीसँगै सोही समुहका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही पनि उपस्थित भएनन् । मुख्यमन्त्री भट्ट प्रधानमन्त्री ओली आउँदा स्वागत गर्न समेत एयरपोर्टमा गएका थिएनन् । नेकपा विवाद बढ्दै जाँदा प्रदेश सरकारको दुरी केन्द्रसँग पनि बढ्दै गएको छ । 

५ वटा प्रदेशका मुख्यमन्त्रीहरूले आयोजना कार्यान्वयनमा देखिएका समस्यादेखि समयमै संघीय कानुन नबन्दा काम गर्न अप्ठ्यारोबारे गुनासो गरेका छन् ।  एकपछि अर्को गर्दै मुख्यमन्त्रीहरूले खेप्नुपरेका समस्या राखेका थिए ।  छलफलमा विभिन्न मन्त्रालयका मन्त्री, मुख्यमन्त्री, संघीय मन्त्रालयका सचिव, प्रदेशका सचिवलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री ओलीले सबैका गुनासा सुने । ‘अब यी समस्या रहँदैनन्,’ गुनासा सुनिसकेपछि सम्बोधनका क्रममा उनले भने, ‘अब निर्वाचनमा केन्द्रित हुनुपर्ने बेला भएको छ, त्यसैले विकासको गति पनि तीव्र बनाउँदै लैजानुस् ।’