रानाथारू भाषा अभिलेखिकरण गर्न व्याकरण निर्माण हुँदै
2021/01/17, 4:01
 
rana

शनिबार कञ्चनपुरको देखतभूलीमा नेपाल रानाथारू समाज आयोजना र भाषा आयोगको संयोजनमा रानाथारू भाषाको अभिलेखीकरण सम्बन्धी गोष्ठीमा व्याकरण निर्माण सहितका महत्वपूर्ण विषयहरूमा सरोकारवालाहरूसँग छलफल गरिएको छ।  नेपाल रानाथारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले वर्तमान सरकारले रानाथारू समुदायलाई अलग्गै सुचीकृत गर्नु र रानाथारू भाषालाई समेत थप गर्नुले रानाथारू समुदायको पहिचान स्थापित भएको बताए।

रानाथारू भाषाको अभिलेखीकरण गर्ने कार्य व्याकरण बिना पूर्ण नहुने हुँदा यसको तयारीमा नेपाल रानाथारू समाज र भाषा आयोगको टोली केन्द्रित रहेको उनले जानकारी दिए।  रानाथारू भाषाको अभिलेखीकरण सम्बन्धी गोष्ठीमा बोल्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले कञ्चनपुर र कैलालीमा बसोवास गर्दै आएका रानाथारू समुदायको स्थानिय पाठयक्रम निर्माणको कार्य अगाडी बढाइने बताए। उनले रानाथारू समुदायको भाषा लिपिवद्ध गर्नका लागि निर्माण हुन लागेको व्याकरणका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए। 

कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता राना बडायकले जनप्रतिनिधी नहुँदै रानाथारू समुदायको भाषाको अध्ययन गरेको उल्लेख गर्दै रानाथारू समुदायको भाषा अभिलेखीकरणको कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।  त्रिभुवन विश्वविद्यालय भाषा विज्ञानका सहायक डिन तथा भाषाशास्त्री डा। दुवीनन्द ढकालले रानाथारू भाषाको पहिलो पटक अध्ययन भइरहेकोले छिट्टै व्याकरण सहित अभिलेखीकरण गरिने बताए। रानाथारू समुदायको प्रत्यक्ष सहभागिता र अध्ययनबाट शब्दकोष, व्याकरण तयार गरिने उनको भनाइ छ।

भाषा आयोगका उपसचिव गेहनाथ गौतमले भाषासम्बन्धी संवैधानिक व्यवस्था अनुरुप कञ्चनपुर र कैलालीमा रहेका रानाथारू समुदायको भाषा अध्ययन भइरहेको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्रै भाषाबारे पहिलो चरणको व्याकरण निर्माण गरिने बताए।