आफ्नो जन्मोत्सवमा उनको फेसवुक स्टाटसमा लेखिएको हुन्छ, ‘बचाऔं कसैको ज्यान, आउनुस गरौ रक्तदान ! मेरो जन्मदिनको उपलक्ष्यमा दाइ विनोद उपाध्याय नेपाल र मैले संगै रक्तदान ग¥यौ ।’ यो सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बस्ने एक जना कीर्तिमानी रक्तदाताले लेख्ने स्टाटस हो । फेसबुकमा दीपक नेपालसँग जोडिनुभएको छ भने तपाईले “बचाऔं कसैको ज्यान, आउनुस गरौ रक्तदान’’ लेखिएको स्टाटस पक्कै पढ्नुभएको होला । नत्र, उनलाई खोज्नुस, पक्कै उक्त स्टाटस पढ्न पाईनेछ । नेपाल चाहिँ आफू नगरी अरूलाई सिकाउने व्यक्ति होइनन्, जसको आजकल बिगबिगी छ । उनी ९२ औं पल्ट रक्तदान गरिसकेका व्यक्ति हुन् ।
९२ पल्टमा उनले दान गरेको रगतको परिमाण हो, ४६ लिटर । एकपल्ट गरेको रक्तदानले तीन जना बिरामीलाई बचाउँन सकिन्छ । जसका आधारमा उनले दान गरेको रगतले दुई सय ७६ जनाको जीवन बचाउन सहयोग पुगेको छ । यो त उनले दिएको रगतले मात्रै हो । उनी धनगढीका लागि त रक्तसञ्चार केन्द्रकै भूमिकामा छन् । अस्पतालमा रगतको खोजीमा तड्पिरहेका सयौँ विरामीलाई रगतको व्यवस्थापन गरिदिएका छन्, दीपकले । उनी पेशाले पत्रकार हुन् । लामोसमय न्यूज–२४ लगायतका मिडियामा काम गरेको अनुभव छ उनीसंग । तर पत्रकारसंगै उनलाई किर्तिमानी रक्तदाता भनेर चिन्ने पनि कम छैनन् ।
०००
झण्डै ढाई अशक अगाडि विरामी आफन्तलाई भेट्न उनी सेती प्रादेशिक अस्पतालको आकस्मिक वार्डमा पुगेका थिए । त्यहाँ दुर्घटनामा घाईते भएका रिक्सा चालकलाई पनि उपचारका लागि पुगाईएको रहेछ । तर घाईतको साथमा आफन्त कोही पनि थिएनन् । दीपक भन्छन्, ‘घाईते भएका रिक्सा चालकलाई पनि ए पोजेटिभ नै रगत चाहिएको रहेछ । पहिलो पटक मैले उनकै लागि रक्तदान गरे । त्यसपछि तीन महिनाको अन्तरमा नियमित रक्तदान गर्दै आएको छु ।’ दीपक नियमित रक्तदाता हुनुमा दाई विनोदलाई श्रेय दिन्छन् । उनका अनुसार विनोद पनि नियमित रक्तदाता हुन् ।
०००
तीन बर्ष अगाडिको कुरा हो, दीपकलाई सेती प्रादेशिक अस्पतालबाट ए पोजेटिभ रगत आवश्यक भएको भन्दै स्वास्थ्यकर्मीको फोन आयो । उनी केही समयमै प्रादेशिक अस्पतालमा पुगे । बिरामी रहेछन्, सिकलसेल एनिमियाको । ‘अस्पताल पुगेर मैले रगत दिए । तर उनलाई मेरो रगतले पनि बचाउन सकिएन् । मेरो जिवनको दुखद अनुभव हो त्यो,’ दीपकले भने । त्यसअघिको कुरा हो, रक्तसञ्चार केन्द्र धनगढीबाट दीपकलाई फोन आयो । सुत्केरीलाई ए पोजेटिभ रगत चाहिएको रहेछ । दीपक रगत दिएर फर्किए । केही दिनमा ति महिला ज्यान जोगाईदिएको भन्दै धन्यवाद ज्ञापन गर्न दीपक कार्यरत कार्यालयमै पुगिन् । दीपक भन्छन्, ‘यसरी कार्यालयमै भेट्न आउँदा मलाई पनि खुसी लाग्यो । त्यसपछि म उनको बच्चा हेर्नलाई पनि गए ।’
०००
विहान उठेपछि दीपकको पहिलो काम रक्तसञ्चार केन्द्रमा फोन गर्नु हो । उनी रगतको उपलव्धताको विषयमा बुझ्छन् । यदि कुनै समूहको रगतको अभाव भए सामाजिक सञ्चाल फेसवुकमा “बचाऔं कसैको ज्यान, आउनुस गरौ रक्तदान’’ भन्दै स्टाटस लेख्न सुरु गर्छन् । त्यति मात्रै होईन्, सामाजिक कार्यमा सक्रिय संस्थाहरुलाई रक्तदान गर्न पनि उनी आग्रह गरिरहन्छन् । त्यसैले पनि धनगढीमा कसैलाई रगत चाहिए पहिलो फोन दीपकलाई नै जान्छ । उनी भन्छन्, ‘रगत चाहियो भनेर मध्यरातमा पनि फोन आउँछ । आफुले दिन मिल्ने भए त दिएर पनि आउँछु तर दिन नमिल्ने भए रगतको व्यवस्थापन गरिदिन्छु । बिरामीले रगत नपाउँदासम्म निन्द्रा लाग्दैन् ।’
दीपक रक्तदान कार्यक्रम गर्नुभन्दा पनि नियमित रक्तदाताको संख्या बढाउँदा रगत नपाएर ज्यान गुमानउनुपर्ने समस्या समाधान हुने बताउँछन् । उनले अगाडि थपे, ‘नियमित रक्तदाताको संख्या बढाउन सकियो भने रक्तसञ्चार केन्द्रमा रगतको अभाव नै हुँदैन् । रक्तदान कार्यक्रमले रगत होल्ड हुन्छ । बिरामीलाई फ्रेस ब्लड चाहिएमा पाउन मुस्किल हुन्छ ।’ नेपाल रेडक्रस सोसाईटी कैलालीका सभापति उत्तम जोशीले पश्चिम नेपालमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्न दीपक नेपालको भूमिका महत्वपूर्ण रहेको बताए । ‘रगतको बिकल्प रगत नै हो,’ जोशीले भने, ‘दीपक जी जस्ता व्यक्तिकै कारण रक्तसञ्चार केन्द्र सञ्चालन भईरहेको छ । उनले आफुले मात्रै रगत दिदैनन् अन्यलाई पनि रक्तदान गर्न प्रेरणा दिएका छन् । दीपक जीसंग मिलेर रेडक्रसले पनि कार्यक्रम सञ्चालन गर्ने सोच बनाएको छ ।’