कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका अर्थात् शारीरिक अपाङ्गता छन् । होटल व्यवसायी रहेका ती महिलाका पति र घरपरिवारले उनलाई सधैँ छोरा चाहियो भनेर कचकच सुनाउँछन् ।
छोराको आसमा सात पटकसम्म गर्भ परीक्षणपछि भु्रण हत्या गराइसकेकी यी महिलालाई अब गर्भवती बन्ने इच्छा पटक्कै छैन तर छोरा चाहियो भन्ने कचकचले भने परिवारले गर्न छाडेको छैन । “गर्भावस्थामा निकै कमजोर हुन्छु, छोरी राम्रा छन्, पढाइमा पनि राम्रै तर पतिले छोरा नभइ हुन्न भन्नुहुन्छ”, उनी भन्छिन्, “मैले सातपटकसम्म गर्भपतन गराइसकेँ, आजभोलि नियमित रगत बगिरहेको छ । अब त स्वास्थ्य पनि के रहला रु तर फेरि पनि छोरा जन्माउनु छ, पतिले मान्नेवाला छैनन् ।”
कैलालीकै अर्की महिलाको पहिलो सन्तान छोरी छिन् । उनलाई पनि अर्को सन्तान छोरा चाहिएको छ । घरपरिवार र पतिले पनि अब छोरी नजन्माउने भनेका छन् । एक्काइस वर्षमा पहिलो छोरी पाएकी यी महिलाले ३१ वर्ष पुग्दासम्म गर्भ परीक्षणपछि पाँचौँपटक गर्भपतन गराइसकेकी छिन् । उनले पाँच पटकसम्म भारतमा गएर गर्भपतन गराएकी हुन् ।
“शुरुमा दुई पटकसम्म त म पनि सहमत थिएँ, एक छोरी छिन्, एक छोरा पाऊँ भन्ने थियो, तर पछि यो कार्य निरन्तर भयो”, उनी भन्छिन्, “अहिले त चिकित्सकले पाठेघरमा घाउ छ भनेका छन्, अब सन्तान जन्मन नसक्ने जोखिम बढेको छ । पारिवारिक र सामाजिक दबाबले मैले स्वास्थ्य बिगारेँ ।” उनलाई अहिले अब पतिले दोस्रो विवाह गर्छन् कि भन्ने तनावले पिरोलेको छ । “म भर्खर विवाह गर्ने उमेरमा पुगेकी छु, मेरो स्वास्थ्य पनि बिग्रिसक्यो, पतिले पनि खासै वास्ता गर्दैनन्”, उनले चिन्ता व्यक्त गरिन्, “म त बर्बाद भएछुजस्तो लाग्छ । छोरा नपाए त मैले दुःख पाउँछु । अब पाठेघरको समस्या ठीक नभए के होला रु”
महिला पटकपटक गर्भपतन गर्दा शारीरिक र मानसिकरूपमा निकै कमजोर भइरहेका छन् । छोराछोरी समान हुन्, समान व्यवहार गर्नुपर्छ भने पनि अझै समाजमा छोरा नै हुनुपर्छ भन्ने मानसिकता बोकेका केही परिवारका कारण महिलाको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । पटकपटकको गर्भपतनपछि समस्या भोगेकी अर्की महिलाको पीडा झन् पीडादायी छ । दुई छोरीकी आमा उनी भर्खर ३३ वर्ष लागिन् ।
चौध वर्षको कलिलो उमेरमा विवाह गरेकी उनका विवाहलगत्तै तीन छोरी जन्मिए । दुई छोरी किशोरावस्थामा पुगिसके, एक छोरी बिरामी भएर बितिन् । शुरुमा उनका पतिले छोरा चाहिन्न, यिनै सन्तान हुन् भनेर राम्रै व्यवहार गरे । तर केही वर्षयता उनको व्यवहार फेरियो । “पतिले सन्तान चाहियो, छोरीहरु त विवाहपछि पराइघर जान्छन् भन्न थाले, अनि म दुई पटकसम्म गर्भवती भएँ, परीक्षण गर्दा छोरी भएपछि गर्भपतन गरियो”, उनी भन्छिन्, “अर्कोपटक प्रयास गर्दा गर्भ रहन सकेन, उपचार गर्दा पनि बच्चा रोकिएन, त्यसपछि पतिले दोस्रो विवाह गरेर गए ।”
कक्षा ६ मा पढ्दापढ्दै विवाह गरेकी यिनले न पतिविरुद्ध मुद्दा दायर गरिन्, न त झगडा गर्ने हिम्मत गरिन् । उनले मुद्दा दायर गरे छोरी र उनलाई खर्च नदिने धम्की दिइरहन्छन् । “अब म सन्तान पाउन सक्दिनँ, मुद्दा मामिला गरौँ भने आफ्नो कमाइ छैन, छोरी कसरी पाल्नु, पढाउनु रु उनी कमाउँछन् र घर चलेको छ”, उनले भनिन्, “पेट पाल्नु छ । छोरीको भविष्य पनि बनाउनु छ । मेरा सपनाहरु अब रहेनन् ।”
महिला सन्तान जन्माउने मेसिनका रूपमा प्रयोग भइरहेका महसुस कतिपय महिलाले गरिरहेका छन् । छोराको आसमा महिलाको शरीरमाथि खेल्ने काम भइरहेको छ । सत्र वर्षमा विवाह गरेकी अर्की महिला अहिले शारीरिकरूपमा अस्वस्थ छिन् । तीन छोरीकी आमा उनले पनि छोराको आसमा छ पटकसम्म गर्भपतन गरिन् । छोराको आसमा गर्भपतन गरेकी उनले छोरा होइन, पाठेघर नै फाल्नुपर्यो । स्वास्थ्यमा समस्या भएपछि हाल पतिले पनि वास्ता गर्न छोडे ।
“पति भारतमा छन्, उनी घर फर्कँदैनन्, मेरो स्वास्थ्य कमजोर छ । म जोखिमपूर्ण काम गर्न पनि सक्दिनँ”, उनले पीडा पोखिन्, “अहिले अर्काको बारीको तरकारी किनेर हाटबजारमा बेच्छु, त्यहीबाट खर्च चलेको छ । छोरीहरुलाई पनि राम्रो शिक्षा दिन सकेको छैन ।”
अंश र वंशको हकदार छोरामात्र हुन् भनी सम्झने समाजमा छोरा चाहिन्छ भन्ने गलत अभ्यास पालेको समाजमा महिलामाथि यस्ता अनेकन हिंसा भइरहेका छन् । छोरा नपाउनुको दोष पनि महिलालाई दिने गर्नाले महिलाले समान दर्जा पाउन नसकेको पनि कतिपय महिलाको बुझाइ छ ।
लिङ्ग पहिचानपछि गर्भपतन गर्नु कानूनीरूपमा अपराध भए पनि प्रविधिको विकासपछि लिङ्ग परीक्षण गरेर गरिने गर्भपतन बढेको छ । भु्रण परीक्षणपछि यसरी गरिने गर्भपतनको न कुनै तथ्याङ्क राख्ने गरिएको छ न त कसैले जोखिम नै व्यहोर्छ । यसरी गरिने गर्भपतनले महिलाको ज्यान पनि जान सक्छ । “महिलाले स्वास्थ्यमा समस्या भए वा इच्छाबिनाको गर्भ भएमा गर्भपतन गर्न पाउने अधिकार छ तर गर्भ परीक्षण गरेर गर्भपतन गर्न मिल्दैन”, वरिष्ठ अनमी हेमा ज्ञवाली भन्छिन्, “यसरी लुकिछिपी गरिने गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा मात्र होइन, ज्यान पनि जान सक्छ ।”
“सबैले छोरा नै खोजेमा छोरीहरु कहाँ पाइएलान् रु समाज चलाउन त छोराछोरी दुवै चाहिन्छ । जन्माउँदा छोरा खोज्ने तर बुहारी असल र शिष्ट खोज्ने चलन छ”, अधिकारकर्मी निर्मला कडायत भन्छिन्, “सबैले परीक्षण गरेर छोरा मात्र जन्माए पछि बुहारी कहाँ पाइएलान् रु सृष्टि चलाउन त महिला नभइ हुन्न । हरेक कार्यमा महिला अर्थात् छोरी चाहिन्छ ।” उनी छोरीको महत्व बुझाउन नसकेकै कारण समाजले छोरालाई प्रश्रय दिइरहेको छ । “प्रजनन अधिकार महिलाको अधिकारभित्र पर्छ तर कति महिलाले अधिकार प्रयोग गर्न सकेका छन्, यो चिन्ताको विषय भएको छ”, कडायत भन्छिन्, “छोरीहरु आत्मनिर्भर नभएका कारण पनि महिलालाई बच्चा जन्माउने मेसिनका रूपमा लिने गरिएको छ ।”
गर्भपतनका कारण महिलाको ज्यान जोखिममा पर्नसक्छ । गर्भपतनका कारण अत्यधिक रगत बग्ने, पाठेघरमा घाउ हुने तथा पाठेघरको मुख खुकुलो हुने, बाँझोपनको समस्या हुनसक्ने, रक्तअल्पता हुने, शरीर कमजोर हुने, एक्लोपन महसुस हुने, जीवन बोझ लाग्ने, एक्लै बस्न रुचाउने र आत्महत्या गर्न मनलाग्ने जस्ता मानसिक असर देखापर्ने टीकापुर अस्पतालका स्त्रीरोग विशेषज्ञ डा गौरी रिजाल बताउँछिन् ।
“अत्यधिक रक्तश्रावका कारण महिलाको ज्यानसमेत जान सक्छ । अर्को बच्चा नरहन सक्छ, गर्भपतनले महिलालाई फाइदा गर्दैन । सबैतिरबाट बेफाइदा नै हुन्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ”, स्त्रीरोग विशेषज्ञ डा रिजाल भन्छिन्, “सरकारले तीन महिनासम्मको गर्भपतन सेवा निःशुल्क दिने गरेको छ । हामीले भ्रुण परीक्षण गरेर गर्भपतन गर्न अनुमति दिदैनौँ । यहाँ महिनामा तीन÷चार महिला भ्रुणको लिङ्ग छनोटपछि गर्भपतनका लागि आउनुहुन्छ । हामी सेवा दिदैनौँ ।”
टीकापुर अस्पतालले छ महिनासम्मको गर्भपतन सेवा दिन पाउने अनुमति पाएको छ तर यहाँ विशेषज्ञको सेवा नभएका कारण तीन महिनासम्मको मात्र गर्भपतन सेवा दिइने गरिएको छ । टीकापुर अस्पतालबाट महिनामा ५० जना जति महिलाले गर्भपतन सेवा लिइरहेको तथ्याङ्क छ । लिङ्ग पहिचान गरेर गर्भपतन गर्नु कानूनी अपराध हो । कुनै विशेष कारणले गर्भपतन गर्नुपरे चिकित्सकको सल्लाहमा आधिकारिक स्वास्थ्य केन्द्रमा मात्रै गर्नुपर्ने कानूनी अधिकार छ । लिङ्ग छनोट गरेर गर्भपतन गर्नेहरु जिल्ला बाहिर सेवा लिन जाने वा भारत सेवा लिन जाने गरेका छन् ।
“गर्भ परीक्षणपछि गर्भपतन गर्दा आर्थिक खर्च पनि बढ्छ, महिलाको स्वास्थ्य पनि जोखिममा पर्छ”, डा रिजाल भन्छिन्, “हामी त लिङ्ग छनोटपछि आउनेलाई सेवा दिदैनौँ, उहाँहरु अन्त गएर पनि गर्भपतन गर्नुहुन्छ, हामी सम्झाउँछौँ तर मान्नुहुन्न । गर्भपतन महिलाको स्वास्थ्यको वाधक बन्दै गएको छ ।” कैलालीको अत्तरियास्थित मेरी स्टोप्स सेन्टरको तथ्याङ्क हेर्दा जिल्लामा आ.व २०७५/७६ मा ९५८, २०७६/७७ मा ८६६ र चालू आवको पहिलो चौमासिकमा ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
तथ्याङ्कमा सुदूरपश्चिममा पनि २० वर्षमुनिका सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या घटेको देखाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क हेर्दा आ.व २०७४/७५ मा सुरक्षित सेवा लिनेको सङ्ख्या सात दशमलव पाँच प्रतिशत रहेकामा आ.व २०७५/७६ मा पाँच दशमलव आठ प्रतिशत र आ.व २०७६/७७ मा पाँच दशमलव सात प्रतिशत रहेको छ ।
निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी प्रदेशमा पुरुषको भन्दा महिलाको स्वास्थ्य अवस्था कमजोर रहेको बताउँछन् । “सानै उमेरमा विवाह गरेर सन्तान जन्माउनु, पोषणयुक्त खानेकुराको कमी, बेरोजगारी, आर्थिक परनिर्भरताका कारण महिलाको स्वास्थ्य कमजोर हुन्छ”, उनी भन्छन्, “त्यसैमाथि गर्भपतन गरेका महिला थप जोखिममा हुने भए ।” प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्की लिङ्ग छनोटका आधारमा गरिने गर्भपतन गैरकानूनी भएकाले प्रदेशका कुनै पनि स्वास्थ्य केन्द्रमा यस्तो अवैध काम भए कानूनीरूपमा सजाय दिइने बताउँछन् ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले लिङ्ग पहिचान गरेर गर्भपतन गर्नेको सङ्ख्या धेरै भए पनि कानूनी न्यायका लागि उजुरी आउने वातावरण नभएको बताए । नेपालमा वि.सं २०५९ मा गर्भपतल सेवा उपलब्ध गराउनका लागि कानूनी व्यवस्था भएको थियो । विषेश अवस्थामा गर्भपतन गर्न पाइने कानूनी व्यवस्था भए पनि यहाँ गर्भपतन मनपरी हुँदा महिलाको स्वास्थ्य जोखिममा परेको हो । गर्भपतन सेवा सूचीकृत स्वास्थ्य संस्थाले मात्र दिन पाउने व्यवस्था गरिएको छ तर लुकीछिपी गरिने गर्भपतन समस्या बन्दै गएको छ ।
नेपालको संविधानको धारा ३८ को उपधारा (१) मा प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक हुनेछ भनी उल्लेख छ । त्यसको उपधारा (९) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा (८) को खण्ड (क) मा गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भू्रणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि छ महिनासम्म कैद सजायको व्यवस्था छ ।
त्यसैको खण्ड (ख) मा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई उपदफा (३) मा लेखिएको सजायमा थप एक वर्षसम्म कैद हुनेछ भनिएको छ । उपदफा (३) को खण्ड (क) मा बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र रु १० हजार जरिवाना, खण्ड (ख) मा १२ हप्तादेखि २५ हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना र खण्ड (ग) मा २५ हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवानाको व्यवस्था गरिएको छ ।
छोरी जन्मनुको दोष महिलालाई दिने प्रचलन नेपालमा अझै छ । गर्भको बच्चाको लिङ्ग मानव शरीरको क्रोमोजमले निर्धारण गर्दछ । “तर हाम्रो समाजले छोरी जन्माएको दोष महिलालाई दिन्छ, पुरुष निर्दोष सावित हुन्छ”, उनी थप्छन्, “सन्तानलाई बराबरी व्यवहार र हेराइ नभएसम्म सन्तान जन्माएकै कारण महिलाले सहनुपर्ने हिंसा रहिरहनेछ ।”