कञ्चनपुरमा एकै दिन तीन जना मृत फेला
2021/01/22, 1:27
 
sdss

कञ्चनपुरमा तीन जना मृत फेला परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–४, भीमदत्त नगरपालिका–१८ र वेदकोट नगरपालिका–२ मा एक/एक जना पुरुष मृत फेला परेका हुन् । 

पुनर्वास नगरपालिका–४ को घ गाउँमा रहेको महादुर्गा टाटा इँटा भट्टामा कार्यरत ७१ वर्षीय किसुन सरोज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । उनकाअनुसार राति सुतेका भारतको प्रतापगढ जिल्लाको नवहता ग्राम घर भएका सरोज बिहान मृत अवस्थामा भेटिएका हुन् । 

यस्तै  भीमदत्त नगरपालिका–१८ को पत्थरपुरमा २५ वर्षीय रमेश चौधरी पनि मृत भेटिएका छन् । चौधरी आफू सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक थापाले बताए । यस्तै जिल्लाको वेदकोट नगरपालिका–२ मा ससुराली गएका युवक मृत भेटिएका छन् । 

जिल्लाको वेदकोट नगरपालिका–३ का ३० वर्षीय लक्ष्मण दमाइको ससुराली गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले वेदकोट नगरपालिका–२ मा रहेका ससुराली घरको आगनमा लडेका दमाइको मृत्यु भएको हो । 

थापाकाअनुसार सासुआमा बिरामी भएकाले श्रीमती बिनता दमाइसँगै भेटघाट गर्न गएका उनको मृत्यु भएको हो । मदिरा समेत सेवन गर्दै आएका श्रीमानलाई ससुरालीमै छोडेर श्रीमती बिनता भने बिहीबार बिहान नै घरतर्फ हिडेकी थिइन् । तीनै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।