‘टपर’ दृष्टिविहिनको लोभलाग्दो उपलब्धि
2021/01/24, 11:20
 
arjin

०५२ सालमा कैलालीको लम्कीचुहा नगरपालिका–६ मा अर्जुन रावलको जन्म हुँदा कसैले रुचाएका थिएनन् उनलाई । कारण थियो, जन्मजात दृष्टिविहिन थिए अर्जुन । दृष्टि गुमाएको छोराले जन्म लिएपछि रावलका बुवाआमा पनि समाजबाट हेपिए । रावल परिवारका लागि बोझ बन्ने हुन् भन्ने अनुमान थियो धेरैको । तर दृष्टि गुमाएको छोरालाई विद्यालय पठाउने हुटहुटी थियो अर्जुनका बुवामा । उनैले धनगढीको पञ्चोदय माविमा भर्ना गरे अर्जुनलाई । दृष्टिविहिनहरुकै लागि विद्यालयमा खोलिएको जिवनज्योती छात्रवासमा बस्दै पढ्न थाले अर्जुन । ब्रेनलिपी माध्यमबाट अध्ययन गर्थे उनी । २०६९ सालमा एसएलसी उत्तिर्ण गरेका अर्जुन धनगढीकै ऐश्वर्य विद्या निकेतनमा ११ मा भर्ना भए । शिक्षा संकायमा अङग्रेजी विषय लिएर । दृष्टिविहिन रावलले ११ र १२ कक्षामा संकाय टप गर्दै धेरैलाई चकित बनाए । उनी सम्झिन्छन्, ‘सो समयमा मेरो सबै ध्यान पढाईमा थियो । जिवनमा केही बन्ने लक्ष्य थियो । जस्ले मलाई सफल बनायो ।’

स्नातकको पढाईका लागि उनी कैलाली बहुमुखी क्याम्पसमा भर्ना भए । उनको रोजाईमा प¥यो मानविकी संकाय । त्यस्मा पनि राजनीति शास्त्र र अङग्रेजी । स्नातक उत्तिर्ण त गरे तर पहिले जस्तै ‘टपर’ भने हुन सकेनन् । स्नताक अध्ययनकै क्रममा धेरै संघसंस्थामा सक्रिय भईसकेका रावल भन्छन्, ‘सामाजिक कार्यमा पनि समय बिताउन थालेपछि अध्ययनमा पहिलेको जस्तै समय पनि दिन सकिएन । टपर पनि बन्न सकिएन ।’ स्नातक उत्तिर्ण गरिसकेपछि उनले २०७३ सालमा पहिलो पटक शिक्षक सेवा आयोगले लिएको निमावि (अङग्रेजी) मा परिक्षा दिए । लिखितमा पहिलो पटक नै नाम निस्कियो तर उनी अन्तरवार्तामा असफल भए । दोस्रो पटक २०७५ सालको असोजमा फेरी शिक्षा सेवा आयोगले निमाविमा अङग्रजी विषयको परिक्षा लियो । उनले पनि परिक्षा दिए र फेरी लिखितमा नाम निकाले । २०७६ साल साउनको तेस्रो साता अन्तरवार्ताको नतिजा आयो र उनको कठोर संघर्षले रंग ल्यायो । उनी सरकारी जागिरे भए, शिक्षक सेवामा उत्तिर्ण भएर । यो सफलताले उनको परिवार मात्रै होईन धेरै अपाङगता भएका व्यक्तिहरुमा पनि खुसियाली छायो । दृष्टिविहिनले जिवनमा केही पनि गर्न सक्दैनन भन्ने मानसिकतालाई गलत सावित गरिदिए अर्जुनले । जन्मिदा कुरा काट्ने छिमेकी बधाई दिन थाले । अहिले उनी हिमालय मावि टीकापुरमा अध्यापन गराउँदै आएका छन् । त्रिभुवन विश्व विद्यालयमा अन्तराष्ट्रिय सम्वन्ध र कुटनीतिमा स्नातकोत्तर गरिरहेका छन् । 

पेशाले शिक्षक अर्जुन समाजसेवा र राजनीतिमा पनि उत्तिकै चासो राख्छन् । त्यस्को छनक उनले ११ बर्षकै उमेरमा देखाईसकेका थिए । कुरा थियो, २०६२÷०६३ को जनआन्दोलनको । अर्जुन ११ बर्षको बालक, त्यसैमाथि दृष्टिविहिन । लम्कीमा आन्दोलन चर्किदै गर्दा गणतन्त्र स्थापनाका लागि सोही आन्दोलदनमा होमिएका थिए रावल पनि । आन्दोलनमा उनको उपस्थिीती धेरैलाई जिल्ल पार्ने थियो । तीन  बर्षअघि मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका लागि ठेक्का सम्झौता भएको लामो समय भईसक्दा समेत घरजग्गा धनीले सडकमा रहेका संरचना भत्काउनका लागि अटेरी गरे । सोही समयमा रावलकै नेतृत्वमा धनगढी युवा दवाव समूह गठन भयो र संरचना भत्काउनका लागि आन्दोलनका कार्यक्रम अगाडी बढाईयो । त्यसैको आडमा संरचना भत्काउँदै सडक निर्माणको कार्य अगाडि बढ्यो र अहिले अन्तिम चरणको निर्माण जारी छ । उनले नेत्रहिन युवा संंघ सुदूरपश्चिमको महासचिव र कैलाली जिल्ला अध्यक्ष भएर पनि काम गरिसकेका छन् ।