डोटीको शिक्षा कार्यालय भवनमा कोरोना अस्पताल बनाउने निर्णय
2020/06/01, 12:53
 
korona

डोटी जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय भवनमा कोरोना अस्थायी अस्पताल बनाइने भएको छ । आइतबार जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोरोना अस्पताल बनाउने निर्णय गरेको हो । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले शिक्षा इकाईलाई पशुसेवा कार्यालयको भवन सारेर शिक्षा कार्यालयको भवनमा कोरोना अस्थायी अस्पताल बनाउने निर्णय भएको जानकारी दिए ।

कोरोना अस्थायी अस्पताल सुरुमा १६ शय्याको बनाउने र आवश्यक परे शय्या थप्दै जाने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । सर्वपक्षीय बैठकले जिल्लाभित्रका मेडिकल अधिकृत कार्यरत रहेका स्थानीय स्वास्थ्य संस्थाहरूमा कम्तीमा १० आइसोलेसन बेड तयार गर्न सम्बन्धित स्थानीय तहलाई आग्रह गर्ने निर्णयसमेत गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । 

आइतबार बसेको सर्वपक्षीय बैठकले २० दिनको अन्तरालमा सीमा नाका खोल्ने व्यवस्था मिलाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ। एक साताको अवधिमा मात्रै छ हजार आठ सय ८२ जना जिल्ला भित्रिएकाले क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएको भन्दै उक्त निर्णय गरिएको हो । क्वारेन्टिन बनाउनका लागि भौतिक संरचनाको अभाव रहेको, जनशक्ति अभावका कारण क्वारेन्टिन व्यवस्थानमा समस्या भइरहेको, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको समेत अभाव रहेको अवस्थामा दिनहुँ सीमा नाका खोल्दा भारतबाट आउनेको संख्या बढ्ने र यसले क्वारेन्टिनमा बसेकाहरूमै कोरोना फैलिन सक्ने खतरा रहेको बैठकको निष्कर्ष छ ।

यदि २० दिनको अनतरालमा सीमा नाका खोल्ने व्यवस्था मिलाउने हो भने एक चरणमा आएकालाई १४ दिनपछि परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा राख्ने र अर्को चरणमा आएकालाई व्यवस्थापन गर्न सजिलो हुने बैठकले निर्णय गरेको छ । यस्तै सम्बन्धित व्यक्ति र परिवारलाई प्रतिबद्धता गराई स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवकको निगरानीमा रहने गरी होम क्वारेन्टिनमा राख्न सकिने व्यवस्था गर्नसमेत केन्द्र सरकारलाई आग्रह गरिएको छ ।

यस्तै, क्वारेन्टिन व्यवस्थापनका लागि स्थानीय तहहरुले स्वयंसेवक समूह गठन गर्ने, क्वारेन्टिन बनाउन संरचना अभाव देखिएकाले सरकारी तथा गैरसरकारी संस्थाका भवनहरु र निजी विद्यालयका भवनहरु समेत प्रयोग गर्ने निर्णय भएको छ । क्वारेन्टिन अभावको कारण मुलुकभित्रका अति संवेदनशील स्थानहरू बाहेकका जिल्लाहरूबाट आएका व्यक्तिहरूलाई होम क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने समेत बैठकको निर्णय छ ।