कैलाली कोरोनाको ईपि सेन्टर बन्दै, थप १४ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको सङख्या २७ पुग्यो
2020/06/01, 2:48
 
korona

कैलाली कोरोनाको ईपि सेन्टर बन्दै गएको छ । सुदुरपश्चिम प्रदेशमा ४३ जना संक्रमित पुगेकोमा कैलालीमा २७ जना पुगेका छन् । अधिकांश सुदुरपश्चिमेलीहरु त्रिनगर नाका भएर घर फर्किएकोले यहाँ सवैभन्दा वढी कोरोनाको खतरा रहेको छ ।

धनगढी स्थित प्रयोगशाला मार्फत गरिएको परीक्षणमा आज मात्रै १४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । नयाँ संक्रमितहरु मध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन् । यो संगै जिल्लामा संक्रमितको सङख्या २७ पुगेको छ । 

सुदुरपश्चिमकै पहिलो संक्रमितको रुपमा कैलालीमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी युएईको दुबईबाट फर्किएका थिए । त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला र कैलाली लम्कीका २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । जेठ नौँ गते कैलालीको जानकी गाउँपालिकाका तीन जनामा कोरोना पुष्टि भएको थियो । जेठ १३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

जेठ १५ गते कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । यस्तै हिजो मात्रै कैलालीको जानकी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उप–महानगरपालिकाका एक एक जनामा कोरोना पुष्टि भएको थियो ।  कैलालीमा सुरुवातका ४ जना संक्रमित पनि कोरोना जितेर डिस्चार्ज भईसकेका छन् ।
यस्तै आज नै अछाम, बैतडी, डोटी र कञ्चनपुरका एक÷एक पुरुषमा पनि पुष्टि भएको छ । 
 

1