गेटा मेडिकल कलेज निर्माण अन्तिम चरणमा, ६ सय शय्याको अस्पताल एक वर्षभित्र सञ्चालनको तयारी
2021/02/10, 11:56
 
geta

साढे दुई दशकसम्म बहसमै अल्झिएको गेटा मेडिकल कलेज सञ्चालनको अन्तिम चरणमा पुगेको छ । कुनै अवरोध नआए अबको एक वर्षभित्र सुदूरपश्चिम प्रदेशमा पहिलो मेडिकल कलेज सुरु हुने भएको छ । ६ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि भवनलगायत २७ वटा पूर्वाधार संरचनाको निर्माण सकिन लागेको हो ।

मेडिकल कलेज निर्माण परियोजनाका इन्जिनियर पवन रावलका अनुसार हालसम्म ४ अर्बका विभिन्न ठेक्का भई काम अन्तिम चरणमा पुगेको हो । अस्पताल, कलेज, प्रशासनिक भवन, निवासलगायत सातवटा प्याकेजअन्तर्गत भवन पूर्वाधार बनेका छन् । पर्खाल, ५ वटा निवास भवन, तटबन्धको पनि नयाँ टेन्डर भइसकेको निर्माण समितिका कार्यकारी निर्देशक भीम साउदले बताए । ‘अहिलेकै रफ्तारमा काम भयो भने अबको एक वर्षभित्र मेडिकल कलेज सञ्चालन हुन्छ,’ उनले भने । विद्युतीय संरचना, खानेपानी, फोहोर व्यवस्थापन, आन्तरिक ढल निकासलगायत संरचना निर्माणको डिजाइन इस्टिमेट भइरहेको समितिले जनाएको छ ।

गेटा मेडिकल कलेज सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रका लागि कोसेढुंगा सावित हुने यहाँका अगुवाको विश्वास छ । ‘मेडिकल कलेजले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने मात्रै हैन, यहाँको आर्थिक गतिविधिसमेत ह्वात्तै बढाउनेछ,’ प्राध्यापक हेमराज पन्तले भने । निर्देशक साउदका अनुसार करिब १५ अर्ब खर्च हुने गरी तयार भएको गुरुयोजनाअन्तर्गत काम भइरहेको छ । २०७४ वैशाखदेखि कलेजको निर्माण सुरु भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले अब प्रदेशमै चिकित्सा शिक्षा अध्ययनको अवसर र उपचारमा सहजता हुने बताए । ‘मेडिकल कलेज सञ्चालनमा आएपछि अहिलेको जस्तो विशेषज्ञ चिकित्सकको सेवा पाउन नसक्ने समस्या रहने छैन,’ डा. अवस्थीले भने, ‘उपचारका लागि भारतीय सहर र राजधानी धाउने अहिलेको क्रम ९० प्रतिशतले घट्नेछ ।’ केही वर्षअघिसम्म धनगढीमा विशेषज्ञ चिकित्सक आउनै मान्दैनथे । अहिले पनि मुटु र मानसिक रोग विशेषज्ञ सुदूरपश्चिममै छैनन् ।

बिरामीको संख्या, विशेषज्ञहरूका लागि एक्सपोज हुने अवसरले धनगढीमा विशेषज्ञ चिकित्सकहरूको आकर्षण बढिरहेको छ । गेटा मेडिकल कलेजको सञ्चालनले अनुसन्धानको अवसरसमेत हुने सेती प्रादेशिक अस्पतालका डा. निराजन शर्मा पौडेल बताउँछन् । ‘विपन्नहरूको सेवा, बिरामीको चाप र अनुसन्धानको अवसर यहाँ धेरै छ । गेटा मेडिकल कलेजले यो अवसर र सम्भावनालाई अझ बढाउनेछ,’ उनले भने ।

२०४४ सालतिर शंकराचार्यले कैलालीको गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेका थिए र सानो घर पनि बनाएका थिए । उनै शंकराचार्यले २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरे । त्यही वर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टको नाममा दियो । तर, ७ वर्षसम्म मेडिकल कलेजको कुरा हराएझैं भयो । यतिसम्म कि २०६२ मा स्थानीयलाई त्यस क्षेत्रमा सामुदायिक वन जगेर्ना गर्न भनियो । २०६५ मा सरकारले पहिलो पटक गेटा मेडिकल कलेजका लागि एक करोड बजेट विनियोजन गरेको थियो ।

त्यसपछिका हरेक वर्ष थोरथोरै रकम विनियोजन हुँदै गएपछि मेडिकल कलेज स्थापनाको बहस पनि बढ्दै गएको थियो । भौतिक पूवार्धार निर्माणसँगसँगै मेडिकल कलेज सञ्चालनका लागि आवश्यक ऐन कानुन बनाउन सुरु गर्नुपर्ने छ । त्योसँगै मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रूपमा सञ्चालन गर्नुपर्ने माग पनि बढ्दै गएको छ । पुस अन्तिम साता धनगढीमा आयोजित आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गेटालाई मेडिकल विश्वविद्यालयका रूपमा सञ्चालनको प्रक्रिया सुरु भएको बताएपछि सम्बद्ध पक्ष उत्साहित छन् । ‘विश्वविद्यालयको मोडालिटीबाट सञ्चालन गर्नु नै अहिलेको आवश्यकता हो,’ मेडिकल कलेजका अध्यक्ष डा. चेतराज पन्तले भने, ‘यतिबेला हामी सबैको जोड त्यसैमा छ ।’ कान्तिपुरबाट