पर्यटन प्रवर्द्धन गर्न लिंगामा सात करोडको पूर्वाधार 
2021/02/27, 11:55
 
linga

कञ्चनपुरको वेदकोट नगरपालिकास्थित धार्मिक पर्यटकीय स्थल लिङ्गा क्षेत्रमा सात करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लिंगा क्षेत्रमा पूर्वाधार निर्माण गर्न लागिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमसँगको साझेदारीमा वेदकोट नगरपालिकाले पूर्वाधार निर्माण गर्ने जनाइएको छ ।

नगरपालिकाका अनुसार वेदकोट नगरपालिकाको दुई करोड ४५ लाख र संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चार करोड ५५ लाख गरेर सात रुपैयाँ लगानीमा पूर्वाधार निर्माण हुने जनाइएको छ । दुई वर्षभित्र पूर्वाधार तयार पारिने नगरपालिकाले जनाएको छ । 

‘दुई वर्ष भित्र सम्पन्न गराउने गरि नगरपालिकाले आयोजनालाई अगाडि बढाएको छ । खासगरी हामीले आयोजनाको डीपीआर र गुरुयोजनाको निर्माणको काम गरी सकेको अवस्था छ’, वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले भने, ‘लिङ्गा क्षेत्रमा बन्ने आयोजनाको डीपीआर र गुरुयोजनामा हामीले धार्मिक पर्यटनसँग सम्बन्धित सबै कुरा समेटेका छौ । विक्रम सम्बत २०७९ सालको फागुन मसान्तसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।’ 

लिङ्गा क्षेत्रमा विवाह मण्डप, पार्क, नदी तटबन्ध गर्ने कार्य, बायो इन्जियरिङ्ग, ध्यान केन्द्र तथा हेल्थ केयर सेन्टर निर्माण, आउटर बाउन्ड्री निर्माण, नेपालको पूर्व देखिपश्चिमसम्मका महादेवका मूर्ती स्थापना हुने छ । यसैगरी, सोसल कल्चरल एरिया, घण्टी स्थल, स्नान गृह, चिडियाघर, वेदकोट संग्रहालय, वेदकोटदेखि लिङ्गा क्षेत्र जोड्ने पदमार्ग, रिर्साेट, कटेज, रेस्टुरेन्ट, विश्राम स्थल, खानेपानी व्यवस्थापन केन्द्र लगायतका विभिन्न पूर्वाधार निर्माण हुने नगर प्रमुख चन्दले  बताए । 

यसैगरी, दुई किलोमिटर किलोमिटर बढी सडक कालोपत्रे समेत गरिनेछ । नगरपालिकाले पर्यटन पूर्वाधारको विकास सम्बन्धी विभिन्न अन्य योजनालाई पनि अघि सारेको छ । पर्यटन क्षेत्रमा पर्यटकको सजिलै पहुँच होस् भनेर नगरपालिकाले विभिन्न दीर्घकालीन योजनालाई अघि बढाएको छ । यस्तै लिङ्गा क्षेत्र आवतजावत गर्नको लागि मन्दिर पारिपट्टी बिच बाटोमा पर्ने खोलामा पनि नगरपालिकाले झोलुुङ्गे पुल निर्माण गर्ने भएको छ ।

‘वर्षातको समयमा धार्मिक आस्था राख्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई दर्शन गर्नको लागि असहज हुने भएकोले सहजताको निम्ति नगरपालिकाले उक्त क्षेत्रमा झोलुुङ्गे पुलको निर्माणको योजना अघि सारेको छ’,  नगर प्रमुख चन्दले भने, ‘योजना सम्पन्न गराउन तथा पुल निर्माणको कार्य छिटो र छरितो गराउन पनि नगरपालिका लागेको छ । केही महिनाभित्रै झोलुुङ्गे पुल निर्माणको काम पनि सुरु हुने प्रक्रिया रहेको छ ।’ लिङ्गा क्षेत्रमा निर्माण हुने संरचनाले लिङ्गा क्षेत्रको धार्मिक महत्व अझ बढ्नेछ भने पर्यटन विकासमा पनि टेवा पुग्नेछ ।  

यस्तै नगरपालिकाले पर्यटन क्षेत्रमा थप एक करोड लगानी गरेको छ । वेदकोट नगरपालिका भरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थहरुको वृद्धि विकासका लागि यस वर्ष थप एक करोड लगानी गरेको नगरपालिकाका प्रमुख चन्दले जानकारी दिए । ‘नगरभित्र रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रहरु वेदकोट ताल, भम्केश्वर मन्दिर, सिद्ध सरोवर ताल, शिव लिङ्गेश्वर लगायतका विभिन्न क्षेत्रमा नगरपालिकाले पर्यटन पूर्वाधारका लागि लगानी गर्ने योजना रहेको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको क्षेत्रलाई विशेष प्राथमिकता दिएर नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा बजेट विनियोजन गरेको छ’, नगर प्रमुख चन्दले भने, । धार्मिक तथा पर्यटकीय स्थलहरुमा खानेपानीको व्यवस्था मिलाउने, धर्मशाला बनाउने, सुरक्षा व्यवस्था, बिजुलीको तथा सोलारको पहुँच गराउने जस्ता कार्यहरुमा नगरपालिकाले बजेट बजेट खर्चेको जनाइएको छ ।