धनगढी प्रयोगशालाको क्षमताभन्दा तेब्बर बढी नमूना संकलन, परीक्षण गर्न कठिनाई, ८ सय थ्रोट स्वावका नमुनाहरु थन्किए
2020/06/03, 1:45
 
korona

कोरोना संक्रमणको जोखिम बढे पनि प्रयोगशालाको क्षमता वृद्धि नहँुदा सुदूरपश्चिममा कोरोना परिक्षणका लागि संकलित करिव ८ सय थ्रोट स्वावका नमूनाहरु थन्किएका छन् । विभिन्न स्थानीय तहले भीटीएम  खरिद गरी कोरोना परीक्षणका लागि थ्रोट स्वावको नमूना संकलन गरी धनगढी स्थित प्रयोगशालामा पठाईरहेका छन् ।

प्रयोगशालाको क्षमताभन्दा तीन गुणा बढी थ्रोट स्वावका नमूनाहरु संकलन भएपछि प्रयोगशालामा कार्यरत प्राविधिकहरुलाई सकस भएको छ । पछिल्ला केही दिनयता तिव्र गतिमा थ्रोट स्वावका नमूनाहरु संकलन भइरहेका छन् । तर प्रयोगशालाको क्षमता भने वृद्धि भएको छैन, न त प्राविधिकको संख्या थपिएको छ । 

करीव ८ सयभन्दा बढि थ्रोट स्वावका नमूनाहरु प्रयोगशालालाई प्राप्त भएका छन्, । कोरोनाको परीक्षण हुने धनगढी स्थित पशु रोग अन्वेषण प्रयोगशालाले दिनभरीमा बढीमा २ सय ५० नमूना मात्र परीक्षण गर्न सक्छ । तर प्रयोगशालाले धान्नै नसक्ने र उसको क्षमताभन्दा बढी थ्रोट स्वावका नमूनाहरु परीक्षणका लागि स्थानीय तहबाट आउने क्रम जारी छ ।

थ्रोट स्वावका नमूनाहरु संकलन गर्ने कार्य यसरी गरी जारी रहे एउटा मेसिन र  केही प्राविधिकले अब कोरोनाको परीक्षण गर्न सम्भव नभएको प्रयोगशालाले जनाएको छ ।