सपना धनगढी अन्तराष्ट्रिय विमानस्थलको, तर स्तरोन्नतिमा ढिलाई !
2021/03/26, 11:33
 
ss

धनगढी विमानस्थलको स्तरोन्नतिमा ढिलाई हुन थालेको छ । विमानस्थल स्तरोन्नतिसम्बन्धी २० वर्षे गुरुयोजना सार्वजनिक भएको एक बर्ष पुगेपनि काम अगाडि नबढेको हो । गत वर्षको माघ २५ गते तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको उपस्थितिमा गुरुयोजना सार्वजनिक गरिएको थियो । 

गुरुयोजना स्वीकृत भएपनि बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । २२ अर्ब लगानी प्रस्ताव गर्दै काठमाडौँको रियल पाथ इन्जिनीयरिङ कन्सल्टेन्सीले गुरुयोजना तयार पारेर प्राधिकरणलाई बुझाएको थियो । 

गुरुयोजनाअनुसार विमानस्थलको स्तरोन्नतिका लागि दुई सय ९७ बिघा जग्गा आवश्यक पर्नेछ । हाल विमानस्थलसँग ७० बिघा जग्गा मात्र छ । तर जग्गा अधिग्रहणको काम पनि अलपत्र छ । नागरिक उड्यन प्राधिकरणका इन्जिनीयर प्रदीप अधिकारीले बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडि बढाउन नसकिएको बताए । 

उनी थप अगाडि भन्छन्, ‘चालु आर्थिक वर्षमा काम अघि नबढेपनि अर्को वर्ष विनियोजन भए आवश्यक प्रक्रिया सुरु हुनेछ ।’ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग रहेको धनगढी विमानस्थल सुदूरपश्चिमको प्रमुख विमानस्थल हो ।

अहिले कायम रहेको १८ सय मिटरको धावनमार्गलाई थप लम्बाई बढाएर साढे २५ सय बनाउने र चौडाइ ४५ मिटर बनाउने योजना छ । यसअघि पनि विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि एक वर्षको अवधी तोकेर ठेक्का सम्झौता भएको थियो । 

प्राधिकरणका अनुसार झण्डै २२ करोडमा धावनमार्गमा थप कालोपत्रे गरिएको थियो । दुवैतर्फ दुई÷दुई मिटर धावनमार्ग फराकिलो बनाइएको थियो । यस्तै तीन वटा जहाज पार्किङको व्यवस्था रहेकोमा थप दुई जहाज पार्किङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार गरिएको थियो ।

धनगढी विमानस्थलबाट अहिले प्रदेशभित्रै आन्तरिक उडान पनि हुँदै आएको छ । यस क्षेत्रका पर्यटन व्यवसायीले धनगढी विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनुपर्ने माग गर्दै आएका छन् ।