कैलालीको गौरिगंगा नगरपालिकाका पाच जनामा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पुष्टि गर्यो । कोरोना पुष्टि भए लगत्तै गौरिगंगा नगरपालिकाले ती व्यक्तिहरूलाई आइसोलेसनमा राख्नका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको थियो । तर, अस्पतालले भर्ना लिएपछि उनीहरूलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित एक मन्दिरको हलमा राखियो । सुदूरपश्चिमको कोरोना डेडिकेटेड सेती प्रादेशिक अस्पतालमा वेड अभाव भएपछि उनीहरूलाई भर्ना नगरी फिर्ता गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नै सुदूरपश्चिममा थप २७ जना नया कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । तीमध्ये कैलालीका १०, कञ्चनपुरका आठ र अछामका नौ जना रहेका थिए । कैलालीको टीकापुरमा चार, गौरिगंगा नगरपालिकाका पाच र धनगढी उपमहानगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । टीकापुरमा थपिएका चार जनालाई टीकापुर अस्पतालको आइसोलेसन र धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुषलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको भए पनि गौरिगंगा नगरपालिकाका कोरोना संक्रमितलाई भने मन्दिरको हलमा राखिएको जनाईएको थियो ।
गौरीगंगा नगरपालिका प्रमुख भीमवहादुर देउवाले कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषलाई सेती प्रादेशिक अस्पतालले वेड अभाव भएको भन्दै भर्ना नगरी फिर्ता पठाएको बताए । उनले भने– पाच नया संक्रमित मध्ये दुई जनाको स्वास्थ्यमा समस्या देखिएको छ । ज्वरो आउने, खोकी लाग्ने र बान्ता समेत भइरहेको छ । त्यसैले सेती प्रादेशिक अस्पतालमा पठाएका थियौ । तर कसैलाई पनि भर्ना गरेनन् । २४ घण्टा मन्दिरको हलको बासपछि उनीहरूलाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ । गौरिगंगाका पाच जना संक्रमितसंगै बुधबार पुष्टि भएका दुई पुरुषलाई पनि महाकाली अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हरि श्रेष्ठले बताए । उनका अनुसार महाकाली अस्पतालको आइसोलेसनमा १५ जना राखिएको छ ।
सुदूरपश्चिम प्रदेशका ७८ जना संक्रमित मध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । हालसम्म संक्रमितमध्ये एक जनाको मृत्यु भईसकेको छ , त्यस्तै, हालसम्म आठ जना निको भएर डिस्चार्ज भईसकेका छन । सात जना प्रदेशभित्रबाटै डिस्चार्ज भएका हुन भने एक जना प्रदेश बाहिर डिस्चार्ज भएका हुन् । सबैभन्दा बढी कैलालीका ३६ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका १०, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक एक जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६४, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।