कैलालीमा ‘इन्टरलक’ इँटाको प्रयोग बढ्दै
2021/04/06, 11:55
 
dhangadhi

पछिल्लो समय कैलालीमा माटोको इँटाको विकल्पमा वातावरणमैत्री ‘इन्टरलक इँटा’को प्रयोग बढ्न थालिएको छ।  संरचना निर्माणमा इँटाको माग बढेसँगै ‘इन्टरलक’ इँटाको प्रयोग पनि बढ्दै गएको हो। चिम्नी इँटा सहजरुपमा र उचित मूल्यमा पाउन समस्या भइरहँदा विकल्पमा यो इँटाको प्रयोग बढ्दै गएको स्थानीयवासी कालु चौधरीले बताए।

यो इँटा उत्पादन हुने ठाउँमा धुलो, धुवाँको समस्या नहुने भएका कारण वातावरणमा पनि कुनै त्यस्तो असर नपर्ने उद्योग सञ्चालकको भनाइ छ। इन्टरलक इँटाबाट संरचना निर्माण गर्दा चिम्नी इँटाको तुलनामा कम लागत पर्ने मदन इको इन्टरलक उद्योग धनगढीका सञ्चालक खेमराज जोशीले बताए ।

क्रसर उद्योगबाट निस्कने ढुङ्गाको धुलो, बालुवा, सिमेन्टको मिश्रणबाट बनाइएको मसलालाई साँचोमा राखेर यो इँटा तयार पारिन्छ। पछिल्लो महिनामा इन्टरलक इँटाको उत्पादन गर्ने पनि बढ्दै गएका छन्। जोशीको उद्योगबाट प्रत्यक्षरूपमा छ जनाले रोजगारी पाएका छन्।

चिम्नी इँटाको प्रतिगोटा मूल्य १७ सम्म पर्दा यो इन्टरलक इँटा प्रतिगोटा ४५ सम्म पर्छ। “चिम्नी उद्योगको इँटाको आकारभन्दा इन्टरलक इँटाको आकार ठूलो हुन्छ”, सञ्चालक जोशीले भने, “यो इन्टरलक इँटा प्रयोग गर्नेहरू बढ्दै गएका छन्।”

उद्योग रुपान्तर कार्य अलपत्र

कैलालीमा विनादर्ता वर्षौंदेखि सञ्चालनमा रहेका भुसी इँटाभट्टा ९उद्योग०लाई दर्ता गरी आधुनिक उद्योगमा रुपान्तरण गर्ने काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। औद्योगिक प्रवद्र्धन बोर्डले गरेको परिपत्रबमोजिम घरेलु तथा साना उद्योग कार्यालयले विगतमा भुसी इँटा उद्योगलाई दर्ता गरी आधुनिक उद्योगमा रुपान्तरण गर्न पहल गरेको थियो।

यस क्रममा जिल्लाका झण्डै ४५ भुसी इँटा उद्योगका सञ्चालकले उद्योग दर्ताका लागि कार्यालयमा निवेदन दिएका थिए। यीमध्ये ३५ सञ्चालकले अनुमतिपत्र ९लाइसेन्स० लिए पनि अझै धेरैले अनुमतिपत्र नलिइ उद्योग सञ्चालन गर्दै आएको बताइन्छ।

कार्यालयमा विगतमा कतिपय भुसी इँटा उद्योग दर्ता प्रक्रियामा आए पनि यस्ता केकति उद्योग आधुनिक उद्योगमा रुपान्तरण भए नभएको बारेका जानकारी नभएको कार्यालयका प्रमुख नवराज भट्टले बताए। उनले भने, “स्थानीय तहलाई आफ्नो क्षेत्रमा यस्ता उद्योग दर्ता भएरनभएको, सञ्चालनको अवस्था र ती उद्योग आधुनिक उद्योगमा रुपान्तरण भए नभएकाबारे कार्यालयलाई जानकारी गराउन पत्र पठाइएको छ।”

यस्ता उद्योगलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्न सञ्चालकले त्यति चासो नदेखाएका कारण आधुनिक उद्योगमा रुपान्तरणमा लैजान समस्या देखिएको बताइएको छ। औद्योगिक व्यवसाय ऐन २०४९ मा घरेलु उद्योग स्थापना भएको छ महिनाभित्र दर्ता गरिसक्नुपर्ने, घरेलुबाहेकका अन्य उद्योग दर्ता नगरी स्थापना गर्न नपाइने, सुर्ती, चुरोट र मदिराजन्यजस्ता उद्योग अनुमति लिएर मात्र स्थापनाको प्रक्रिया अघि बढाउनुपर्ने कानूनी व्यवस्था गरिएको छ।

अवैधरूपमा विनामापदण्ड भुसी इँटा उद्योग जहाँ पायो त्यहीँ सञ्चालन गर्ने प्रवृत्ति बढ्दै जाँदा यी उद्योगबाट आउने धुवाँ धुलोका कारण वातावरण प्रदूषित हुने गरेको जनगुनासो पनि बेलाबखत सुनिने गरेको छ। यद्यपि चिम्नी इँटा उद्योगमा प्रयोग हुने खनिजतत्व कोइला, दाउरा आफूहरूले प्रयोग नगरी केवल जैविक भुसी ९धानको भुस० प्रयोग गर्ने गरेकाले यस्ता उद्योगबाट वातावरण प्रदूषण नहुने दाबी भुसी इँटा उद्योगकका सञ्चालकको छ।

इँटा व्यवसायी सङ्घ कैलालीका अध्यक्ष विनोद साह भने अवैध र निर्वाधरूपमा भुसी इँटा उद्योग सञ्चालन भइरहँदा पनि नियमनकारी निकाय उदासिन बनेको बताउँछन्। उनले भने, “उनीहरूले कर पनि तिर्नु पर्दैन, दारु भट्टी चले जस्तै चलिरहेका छन्।”

जिल्लामा झण्डै ६० भन्दाबढी भुसी इँटाभट्टा सञ्चालनमा रहेको अनुमान गरिएको छ। वातावरणीय परीक्षण गरी सञ्चालनमा रहेका आधुनिक प्रविधिका चिम्नी इँटा उद्योगमा वातावरणीय परीक्षणअनुसार काम भएरनभएकाबारे अनुगमन पनि हुन पनि सकिरहेको छैन।

जसका कारण कतिपय चिम्नी इँटा उद्योग मानवबस्ती नजिकै सञ्चालनमा आउँदा त्यसबाट आउने धुवाँ, धुलोले मानव बस्तीमा प्रतिकूल प्रभाव पारेको गुनासो आउने गरेको छ। कैलालीमा ४२ सहित सुदूरपश्चिम प्रदेशभर ८० वटा आधुनिक चिम्नी इँटा उद्योग सञ्चालनमा रहेको जनाइएको छ।

यी उद्योगमा नेपाली मजदूरका अलावा प्रत्येक उद्योगमा कम्तीमा पनि ३० देखि ४० प्रतिशतका दरले भारतीय मजदूर पनि कार्यरत रहने गरेका छन्। रासस