रातभर परिवारसँगै बसेका धनगढीका दुई जना संक्रमितलाई अस्पताल ल्याईयो 
2020/06/05, 8:55
 
korona

धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का दुई जना कोरोना संक्रमितलाई अस्पताल ल्याईएको छ । एक रात उनीहरुलाई परिवारसँगै राखेको अवस्थामा शुक्रवार विहान एम्बुलेन्स मार्फत सेती पठाईएको वडा नम्बर १४ का वडाध्यक्ष राम वजारी चौधरीले जानकारी दिए ।

हसुलियामा नेपालीलाई पुराएर फुलवारीको पञ्चोदय माविमा वसेका दुवै जना संक्रमितहरुलाई अस्पतालको आईसोलेसनमा राखिएको छ । कोरोना पुष्टि भएपछि उनीहरुलाई छुट्टै राख्नुपर्ने भएपनि विहीवार रातभरी परिवारका अन्य सदस्यहरुसँगै राखिएको थियो । 

दुबै संक्रमित १४ दिनअघि भारतको दिल्लीबाट एउटै गाडीमा आएर धनगढी उप–महानगरपालिका फुलवारीको पञ्चोदय माविको क्वारेन्टिनमा परिवार सहित एउटै कोठामा बसेका थिए । संक्रमित महिलाका श्रीमान र छोरा तथा संक्रमित पुरुषकी श्रीमती र २७ दिने छोरी एउटै कोठामा बस्दै आएकोमा कोरोना पुष्टि भएपछि विहीवार भने अलग नराखेर सँगै राखिएको थियो । संक्रमित महिलाका तीन बर्षीय छोरालाई भने घर पठाईएको छ ।