६ जना कोरोना संक्रमितको पिडाः सुरुमा डिस्चार्ज, सामाजिक सञ्जालमा चर्को आलोचना, फेरि अस्पतालमा राखियो
2020/06/05, 8:27
 
hospital

सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितलाई निको नहुदै अस्पतालले घर पठायो । यस अघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेकोमा स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि उनीहरु डिस्चार्ज भए । लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारितसँगै ६ जनालाई डिस्चार्ज गरियो । 

शुक्रबार दिउसो २ बजे अस्पतालले डिस्चार्ज त गरेपछि उनीहरु कहाँ जाने भनेर अन्योलमा भए । अस्पतालको आइसोलेसनमा उपचाररत अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ वर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरिएपछि उनीहरु बर्षाकै बीचमा धनगढीमा भौतारिए । दिउँसो २ बजे उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरीएकोमा सम्बन्धित जिल्लासम्म पुगाउने व्यवस्था भएन ।

उनीहरु भिज्दै अस्पतालबाट हिडेर बजारका विभिन्न स्थानहरुमा वरालिए । त्यहाँबाट निस्किएपछि उनीहरु अस्पताल आसपासका क्षेत्रका क्षेत्रहरुको होटेलमा छिरे । खाना नास्ता खाए । जान पाउने हो कि होईन भनेर दुविधामै दिन कटाए । 

एक्कासी अस्पतालको आईसोलेसनबाट घर जान भनियो तर न गाडीको व्यवस्था गरियो न त शुक्रवारका लागि वस्ने व्यवस्था नै गरियो । बैतडीको शिवनाथ गाउँपालिकाले एम्बुलेन्स पठाउने भने पनि एम्बुलेन्स शनिवार पुग्ने खवर उनीहरुले पाए । अछामको मेल्लेख गाउँपालिकालाई गाडीका लागि कहाँ भन्ने कसरी भन्ने केही अत्तोपत्तो भएन । 
सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले स्वास्थ्य मन्त्रायले जारी गरेको निर्देशन अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको भन्दै पन्छिए ।

सम्बन्धित पालिकासम्म पुगाउने जिम्मेवारी आफ्नो होईन भनेपछि मेसु प्रति धेरै जना खनिए । सामाजिक सञ्जालहरुमा उनीहरुलाई अलपत्र पारेका विषयमा चर्चा परिचर्चा हुदै विरोध भयो । यतिसम्मको विरोध भयो की सेती प्रादेशिक अस्पताल, मेसु, प्रदेश सरकारको सामाजिक सञ्जालमा खोईरो खनियो । जनस्तरबाट दवाव सिर्जना भएपछि फेरि साँझ आएर कोरोना निको नहुँदै सेतीबाट डिस्चार्ज गरीएका ६ जनालाई अस्पतालमा राखियो । 

सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले सम्बन्धित जिल्लासम्म पुगाउने व्यवस्था नभएपछि उनीहरुलाई फेरी प्रि–र्आइसोलेसनमा राखिएको बताए । बिरामीको सम्बन्धित पालिकाले गाडीको व्यवस्था नगर्दा सम्म उनीहरुलाई प्रि–आइसोलेसन राख्ने अस्पतालले जनाएको छ ।