सुदुरपश्चिममा कोरोनाका कारण दुई जनाको मृत्यु, सेतीमा भृत्यु भएकी महिलामा कोरोना पुष्टि, डायलासिस वार्ड सिल
2020/06/06, 4:53
 
korona

सुदुरपश्चिममा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एक जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की महिलामा कोरोना पुष्टि भएको हो ।

लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन । डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए । मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो।  मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ । 

मृतक महिला यसअघि नेपालगञ्ज र काठमाडौँमा डायलासिस गराउँदै आएकी थिईन् । यो सँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाईरसबाट बाजुराकी दुई बर्षीय बालिकाको मृत्यु भएको थियो । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको थियो । मृतककी आमामा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बाजुरा अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ ।