सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ बर्षीय महिलाको अन्त्यष्टिपछि कोरोना पुष्टि भएको छ । उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकोमा उनको अन्त्यष्टि भईसकेको वडा नम्वर ४ का अध्यक्ष दीपक थापाले बताए । उनले मोहना घाटमा उनको अन्त्येष्टि गरिएको तर कोरोना पुष्टिपछि मात्रै जानकारी पाएको बताए ।
अन्त्यष्टि अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएकोमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । मृत्युपछि चौधरी संस्कार अनुसार अन्त्यष्टि भईसकेको बताउँदै कार्कीले स्वास्थ्य कार्यालय अहिले ट्रेसिङमा जुटेको बताए । उनको अन्त्यष्टिमा सहभागी सबैलाई खोज्ने काम भईरहेको छ ।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले पनि मृतकको अन्त्यष्टि भईसकेको जानकारी भएपछि ट्रेसिङको कार्य भईरहेको जानकारी दिए । कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव दिएर अन्त्यष्टि भएपछि अहिले मृतको टोलमा त्रास फैलिएको छ । लामोसमयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन ।
डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो । मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो । मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरीएको छ । मृतक महिला यसअघि काठमाडौँबाट उपचार गराएर फर्किएकी थिईन ।