अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएका ४९ जना सम्पर्कमा, धनगढी–४ को महिमा टोल सिल
2020/06/06, 11:50
 
korona

धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएकाहरु सम्पर्कमा आएका छन् । अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी उप–महानगरपालिकाको वडा नम्बर ४ को महिमा टोलकी ५५ वर्षीया महिलाको मलामी गएकाहरु सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाले महिलाको मलामी गएका ४९ जना सम्पर्कमा आएको बताए । थापाका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ४ सहित घोडाघोडी नगरपालिका वडा नम्बर ३ का ८ जना र बर्दोगोरिया गाउँपालिका वडा नम्बर २ का दुई जना गरी ४९ जना उनको मलामी गएको पाईएको छ ।
मृतकलाई सेती प्रादेशिक अस्पतालसम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाटसम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका छन् । मृतकको बसोबास रहेको महिमा टोल शनिवार साँझ नै सिल गरिएको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।

शुक्रवार दिउसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी ती महिलाको शनिवार बिहान अन्त्येष्टि गरिएको थियो । मोहना घाटमा उनको अन्त्येष्टि गरिएको तर कोरोना पुष्टिपछि मात्रै जानकारी पाईएको थियो । लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन् । डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो । मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरीएको छ । मृतक महिला यसअघि काठमाडौँबाट उपचार गराएर फर्किएकी थिईन ।