अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको टोल सिल, सबै मलामीको कोरोना परीक्षण हुने
2020/06/07, 7:09
 
korona

धनगढीमा महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएपछि एउटा टोल सिल गरिएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को महिमा टोल सिल गरिएको प्रहरीले जनाएको छ । स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयको समन्वयमा शनिबार साँझदेखि टोल सिल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए ।

टोल सिल गर्दै आवतजावतमा पूर्ण रुपमा रोक लगाईएको वडाध्यक्ष दीपक थापाले बताए । उनले महिलाको मलामी गएका सबैको नमूना संकलन गरी परीक्षण गर्ने तयारी भईरहेको जानकारी दिए । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिमा टोलकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको थियो ।
उनको मलामी गएका महिलामा टोल सहित घोडाघोडी नगरपालिका वडा नम्बर ३ का ८ जना र बर्दोगोरिया गाउँपालिका वडा नम्बर २ का दुई जना गरी ४९ जना सम्पर्कमा आएका छन । उनीहरु सबैको पीसीआर परीक्षण गर्ने तयारी छ ।

मृतकलाई सेती प्रादेशिक अस्पतालसम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाट सम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका छन् । शुक्रवार दिउसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी ती महिलाको शनिबार बिहान अन्त्येष्टि गरिएको थियो । मोहना घाटमा उनको अन्त्येष्टि गरिएको तर कोरोना पुष्टिपछि मात्रै जानकारी पाईएको थियो। लामोसमयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन् ।

डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो। मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो । मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरीएको छ । मृतक महिला यसअघि काठमाडौँबाट उपचार गराएर फर्किएकी थिईन ।