कैलालीका चार जना संक्रमितलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएका गौरीगंगा नगरपालिकाका १८, २६, २७ र ३३ वर्षीय पुरुषलाई आईसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । नयाँ निर्देशिका अनुसार लक्षण देखिएका विरामी भएका कारण उनीहरुलाई आईसोलेसन भर्ना गरिएको श्रेष्ठले बताए ।
गौरीगंगा नगरपालिका वडा नम्बर ११ को भवानी राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका उनीहरुलाई एम्बुलेन्स मार्फत अस्पताल ल्याईएको हो । यो सँगै सेती अस्पतालको आईसोलेसन वार्डमा उपचाररत व्यक्तीहरुको संख्या २४ पुगेको छ । जसमा २३ जना संक्रमित र एक जना शंकास्पद रहेका छन् ।
यसअघि १९ जना लक्षण देखिएका संक्रमितको सेतीमै उपचार भईरहेको थियो भने ६ जना लक्षण नदेखिएका संक्रमितलाई नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरेको थियो । कोरोना आशंकामा डडेल्धुराका एकजना सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ७ का ४५ वर्षीय पुरुष कोरोना आशंकामा अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
उनलाई अस्पतालको आईसोलेसन वार्डमा राखिएको छ भने कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको श्रेष्ठले बताए। ती पुरुष भारतबाट फर्किएको बुझिएको छ। उनमा कोरोना सम्भावित लक्षण देखिएका कारण अस्पतालले आईसोलेसन वार्डमा भर्ना गरेको हो।