सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी फाँटका सिनियर स्वास्थ्यकर्मी राधाकृष्ण चौधरी आइतबार हतास मनस्थितिमा देखिन्थे । उनी एक बिरामीका बारेमा बुझ्न आएका आफन्तलाई धेरै बेर नबस्न, मास्क र फेससिल्ड राम्रोसँग प्रयोग गर्न भनिरहेका थिए । उनी अस्पतालभित्र कोभिड १९ का बिरामीको हाच्छ्युँ र खोक्दा हावामा समेत भाइरस उडिरहेको छ, भन्दै सतर्क गराउँदै थिए ।
उनले उपचारमा खटिएका स्वास्थ्यकर्मी, कुरुवा र भेट्न आउन बिरामीका आफन्तहरूले सावधानी अपनाउन नसके बच्न मुस्किल रहेको बताए । ‘हरघडी बिरामीलाई कहाँ राख्ने तनावमा रहनुपरेको छ,’ उनले भने । उनी आफू इमर्जेन्सी फाँटमा आएका बिरामीहरूलाई ठाउँ मिलाउन व्यस्त देखिन्थे । अस्पतालको इमर्जेन्सी कक्षमा कोरोना पोजिटिभ र अन्य बिरामीले भरिएको थियो । यहाँ बिरामीको कोलाहल र छटपटी मात्रै देखिन्थ्यो ।
उनले आपत्कालीन अवस्थामा आएका बिरामीको पहिलो ‘होल्डिङ सेन्टर’ नै इमर्जेन्सी फाँट भएकाले सबैखाले बिरामी पहिले यही भर्ना हुने गरेको बताए । ‘इमर्जेन्सीबाटै स्वाब लिएर कोरोना परीक्षण गर्न पठाउने गरेका छौं,’ उनले भने, ‘पोजिटिभ पुष्टि भएपछि कोरोना बेडमा भर्ना गर्न पठाउने गरेका छौं ।’ अन्तिम अवस्थामा अस्पताल आउनेहरूको त रिपोर्ट आउने बेलासम्म ज्यान गइसक्ने गरेको उनले बताए ।
‘मैले आफ्नो ३२ वर्षे सेवा अवधिमा यस्तो विपत्ति कहिल्यै देखेको थिइनँ,’ उनले भने । उनका अनुसार २०५१÷५२ मा इन्सफ्लाइटिस र औलो पनि महामारीका रूपमा फैलिएको थियो । त्यसबेला पनि बिरामीले अस्पतालमा शय्या यसरी नै भरिएका थिए । उनले भने, ‘तर यस्तो मृत्युको चीत्कार सुन्न परेको थिएन ।’
अहिलेको चुनौती, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफू पनि बच्ने र बिरामीको पनि सेवा गर्नु रहेको उनले बताए । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले हालसम्म सेती अस्पतालका १२ स्वास्थ्कर्मी संक्रमित भइसकेको बताए । ‘निको भएर पुनः निडरताका साथ काममा फर्केका छन्,’ उनले भने, ‘यसरी फर्कन नसकेको भए अहिले बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीको अभाव बढ्थ्यो ।’