कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पनि जोडिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रमाण संकलनमा काठमाडौं प्रहरी जुटेको छ ।पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गरिरहेको प्रहरीले ओखलढुंगाका गितेन्द्रबाबु राई जीबी को गोर्खा मिडिया नेटवर्कमा उनैले सञ्चालन गरेको पाँचवटा सहकारीको रकम अपचलन गरेको खुलेको थियो ।
त्यही आधारमा प्रहरीले गोर्खा मिडियामार्फत अपचलन भएका बुटबलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा, वीरगञ्जको सानोपाइला सहकारीको रकम अपचलनबारे अनुसन्धान जारी राखेको छ । सहकारीको रकम अपचलन प्रकरणमा गत असोज ६ गते पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी र कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनबारे बयान लिन बुटबल लगिएको थियो ।
छविलाई भने स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयान लिन अघिल्लो साता काठमाडौं ल्याइएको थियो । फेरि उनलाई पोखरा नै फर्काइएको थियो । रविलाई भने प्रहरीले सोमबार ल्याउने तयारी गरे पनि अझै ल्याएको छैन । काठमाडौं प्रहरी अधिकारीहरूका अनुसार, स्वर्णलक्ष्मीमा रवि एक्लैको नाममा समेत केही ऋण लिएको देखिएपछि थप प्रमाण संकलन गर्नुपर्ने भएकाले बयानका लागि ल्याउन ढिलाइ गरिएको हो । काठमाडौं ल्याएपछि बयान लिने तयारी प्रहरीको छ ।
ती प्रहरी अधिकारीले भने, ‘‘उनको स्वर्णलक्ष्मीमा के–के छ भनी हेर्नुपर्ने हुन्छ । यही क्रममा नयाँ तथ्य पनि खुलेका छन् । त्यो संकलन गर्दैछौँ । सकेसम्म यही साता ल्याउने तयारी छ ।’’स्वर्णलक्ष्मीमा रविको भूमिकाबारे अनुसन्धान गर्न काठमाडौं प्रहरीले डीएसपीको नेतृत्वमा छुट्टै अनुसन्धान टिम बनाएको छ । उक्त टिमले स्वर्णलक्ष्मीबाट रवि एक्लैको नाममा सवारी–साधन खरिद ऋण र जीबी राईसँग संयुक्तमा अर्को ऋण समेत रहेको फेला पारेको हो ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार, रवि लामिछानेले २०७८ भदौ ४ गते सवारी ऋणका रुपमा स्वर्णलक्ष्मी सहकारीबाट एक्लैको नाममा ४६ लाख ७८ हजार रुपैयाँ लिएको खुलेको छ । उक्त रकममध्ये लामिछानेले १४ लाख ५६ हजार ३६७ रुपैयाँ तिरेको पनि देखिएको छ । अझै ३२ लाख २१ हजार ६३३ रुपैयाँ तिर्न बाँकी देखिन्छ । त्यसबाहेक जीबी र रविको संयुक्त रुपमा अर्को सवारी साधन ऋणसमेत भएको भेटिएको छ । उनीहरूले सेभेन सिट भ्यानका लागि थप ४६ लाख ८८ हजार रुपैयाँ ऋण लिएको खुलेको हो । उक्त ऋण भने पुरै तिर्न बाँकी देखिएको छ ।
अनुसन्धानमा खटिएका प्रहरीले भने, ‘‘ग्यालेक्सीमार्फत् अपचलन भएकाबाहेक रविले सहकारीबाट छुट्ट्रै आफ्नो नाममा रकम लिएको देखिएकाले उनको संलग्नता थप पुष्टि भएको हो । सहकारीको सदस्य नै नरहेका उनले सवारी–साधन ऋण कसरी लिए भन्ने प्रश्न उब्जिएको छ ।” कालिमाटीबाट सञ्चालन गरिएको स्वर्णलक्ष्मी सहकारीले अनेक ठाउँमा शाखा विस्तार गरेर बचतकर्ताबाट करिब ३ अर्ब रुपैयाँ संकलन गरेको थियो । त्यसमध्ये एक अर्ब ११ करोड ८५ लाख रुपैयाँ अपचलन भएको दाबीसहित ६ सय ८० जनाले प्रहरी वृत्त कालिमाटीमा उजुरी दिएका थिए ।
स्वर्णलक्ष्मीमार्फत् ग्यालेक्सी टेलिभिजनमा आएको रकम तिर्न रवि लामिछानेको हस्ताक्षर रहेको १६ थान चेकमार्फत केही ब्याज रकम फिर्ता भएको खुलेको छ । उक्त चेकमा हस्ताक्षर रविकै भएको प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट समेत पुष्टि भएको प्रहरी अधिकारीले बताए । स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा काठमाडौं प्रहरीले हाल दुई जनालाई पक्राउ गरेको छ । सुनिता नेवा र कमल लामा पक्राउ परेका हुन् । लामा स्वर्णलक्ष्मीका पूर्वसञ्चालक सदस्य हुन् भने नेवा लेखा कर्मचारी ।
प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ गरेका रवि लामिछानेसहितका आरोपीमाथि सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान जारी राखेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । असोज ६ गते पक्राउ परेका पूर्वडीआईजी जोशी थुनामा राखिएको बुधबार ६६ दिन पूरा भएको छ । उनीहरू अझै २४ दिन थुनामा रहनेछन् ।