थप सेवाका लागि स्थानीय तहसँग समन्वय गर्दै टीकापुर अस्पताल
2020/06/24, 6:46
 
korona

संरचनागत रुपले हेर्दा टीकापुर अस्पताल सुविधा सम्पन्न भए पनि आवश्यक जनशक्ति अस्पतालमा हुन नसक्दा अझै  ती संरचनाले पूर्णता पाउन सकेको छैन। अस्पतालमा हाल सात विशेषज्ञ चिकित्सक कार्यरत छन्। टीकापुर नगरपालिकाले अस्पतालमा दुई विशेषज्ञ चिकित्सकलाई सेवासुविधा दिएर राखेको छ भने बाँकी चार चिकित्सक दरबन्दीअनुसार अस्पतालमा कार्यरत छन्।  

केही महिनादेखि अस्पतालले सेवाग्राहीको सेवा प्रवाहलगायत प्रशासनिक कामलाई प्रभावकारी रुपमा कार्य सम्पादन गर्दै गइरहेकामा आर्थिक वर्ष २०७७/०७८ का लागि थप जनशक्ति व्यवस्थापन गर्ने गरी स्थानीय तहसँग समन्वय शुरु गरेको छ। 
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले कैलालीका पूर्वी क्षेत्रमा पर्ने महुन्याल, जानकी र जोशीपुुर गाउँपालिका, टीकापुर र भजनी नगरपालिकालाई अस्पतालमा थप विशेषज्ञ सेवा थप्ने विषयमा छलफल गरेका छन्। उनले एक स्थानीय तहले एक विशेषज्ञ चिकित्सकको सेवासुविधा दिनसके स्थानीयवासीले सामान्य बिरामी हुँदा पनि धनगढी, नेपालगञ्जसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने बताए। 

अध्यक्ष रावलले पाँच स्थानीय तहका प्रमुखसँग छलफलको प्रक्रिया अगाडि बढाएउनुभएको छ।  आउँदो आर्थिक वर्षमा एक स्थानीय तह, एक विशेषज्ञ चिकित्सक व्यवस्थापन हुने गरी स्थानीय तहलाई बजेटको व्यवस्थापन गर्न उनले आग्रह गरे।

‘अस्पतालको पूँजीले मात्र विशेषज्ञ चिकित्सक व्यवस्थापन गर्न सकिने अवस्था छैन। सरकारले पनि दरबन्दीअनुसारको चिकित्सक व्यवस्थापन गर्न सक्ने देखिँदैन’, अध्यक्ष रावलले भने ‘यहाँका स्थानीय तहको मुख्य स्वास्थ्य सेवा लिने केन्द्र टीकापुर अस्पताल नै हो। स्थानीय तहले अस्पतालभन्दा पनि विशेषज्ञ चिकित्सकलाई स्थानीय तहबाटै तलबभत्ता दिने गरी अस्पतालसँग समन्वयका लागि आग्रह गरेका छौंँ।’

टीकापुर नगरपालिकाले आउँदो आर्थिक वर्षमा  एकएक बाल विशेषज्ञ र स्त्रीरोग विशेषज्ञलाई अस्पतालमा निरन्तरता दिने गरी नीति तथा कार्यक्रममा समेटिसकेको छ। जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले आउँदो आर्थिक वर्षको बजेटमा अस्पतालका लागि विशेषज्ञ सेवा विस्तार हुने गरी बजेट विनियोजन गरिने जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आवमा टीकापुर अस्पताललाई सरुवा रोग अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने गरी तीन करोड बजेट विनियोजन गरेको छ। हाल अस्पतालमा दुईदुई बालरोग  र स्त्रीरोग विशेषज्ञ तथा एकएक एबिबिपी, फिजिशियन र  डेन्टल सर्जन  कार्यरत  छन्।