बैतडीमा यात्रुको पनि कोरोना परीक्षण
2021/06/12, 10:50
 
dd

बैतडी भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ ।  जेठ १८ गतेदेखि सुरु भएको परीक्षणमा हालसम्म ५ सयभन्दा बढी यात्रुको परीक्षण गरिएको छ ।  

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले खोडपेमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन विधिमार्फत जिल्ला भित्रिने यात्रुको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने कार्य भइरहेको बताए । उनले भने, “हालसम्म ५ सय ३ जनाको कोरोना परीक्षण गरिएकोमा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका यात्रुलाई आइसोलेट गरेका छौं ।”

दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । 

गत जेठ १८ गतेदेखि तेस्रोपटकका लागि जारी भएको निषेधाज्ञालाई कडाई गर्दै अनिवार्य रुपमा कोरोना परीक्षण थालिएको हो । उनले भने,“ जिल्ला भित्रिने यात्रुवहाक सवारी साधनलाई बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै भित्रिन दिने भनेका छौं, रातिमा जिल्ला भित्रिने यात्रुवाहक सवारी साधनमा रोक पनि  लगाएको छौं।” 

बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खोडपेमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी परिचालन गरी कोरोना परीक्षण कार्य भइरहेको हो । हेल्थ डेस्कमा कोरोना परीक्षण गर्नका लागि ६ जना स्वास्थ्यकर्मी परिचालन गरिएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यसअघि भारतसँग जोडिएको सीमानाका झुलाघाटमा पनि हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षणको काम भइरहेको छ । बैतडीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यहाँ कोरोनाका कारण १६ जनाको मृत्यु भइसकेको छ । रासस