पहिराले बैतडीका ग्रामीण सडक अवरुद्ध, खाद्यान्न ढुवानीमा समस्या
2021/06/21, 4:21
 
dd

लगातारको वर्षाका कारण पहिरो जाँदा बैतडीका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन्। वर्षाका कारण सडकहरुमा पहिरो खस्नुका साथै हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ। वर्षाकै कारण शिवनाथ गाउँपालिकाका ग्रामीण सडकहरु अवरुद्ध भएको गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिए। 

उनले भने,“सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा बाधा पुगेको छ, वडा कार्यालयहरुसँग जोडिएका सडकहरु पहिरो र हिलाम्मे  छन्।” वर्षाका कारण जिल्लाको पाटन–पञ्चेश्वर, सतबाँझ–सुर्नया, ढोल्यामोड–सुर्नया, ढोल्यामोड–पुर्चौंडी, देहीमाण्डौं–गिरेगडा, पाटन–सकार–कैलपाल सडक, धर्मघर–सनसेरीमाडौँ सडक, देहीमाडौँ–दुर्गाभवानी सडक, देहीमाडौँ–सुरकाल सडक लगातारको वर्षाका कारण अवरुद्ध भएका हु्न्। यीबाहेक अन्य ग्रामीण सडकहरु पनि अवरुद्ध बनेका छन्।  

स्तरोन्नतिका काम भइरहेको सतबाँझ–सुर्नया सडकमा जम्मा भएको माटो वर्षाले बगाउँदा सवारी आवागमनमा समस्या भएको अस्थायी ट्राफिक पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए। उनले भने,“लगातारको वर्षाले सडक हिलाम्य छन्, कुनैकुनै ठाउँमा पहिरो पनि खसेको छ, गाडी चलाउन मिल्ने अवस्था छैन।” 

कच्ची सडकहरुमा वर्षात्को समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन्। सञ्चालनमा रहेका कच्ची सडकहरुमा गाडी चलाउन निकै मुस्किल भएको यातायात व्यवसायीहरुले बताएका छन्। वर्षाका कारण सडक हिलाम्मे हुँदा सवारी सञ्चालनमा समस्या भइरहेको जीप चालक नरेन्द्र विष्टले जानकारी दिए। उनले भने, “कच्ची सडक त्यसैमा लगातारको पानीले गर्दा समस्या भएको छ।”

 

खाद्यान्न ढुवानीमा समस्या

केही दिनदेखि लगातार वर्षाले जिल्लाका ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ। यसका साथै बिरामी र  आकस्मिक कामका लागि जानुपर्नेहरुलाई समेत कठिनाइ भएको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन चल्न छोड्दा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्।  डाङ–कलौना जोड्ने सडक अवरुद्ध हुँदा बोकेरै खाद्यान्न ढुवानी गर्नु परेको दोगडाकेदार–३ कलौनाका मनीराम गिरीले बताए। 

ग्रामीण सडकहरुमा गाडी नचल्दा कुनै नागरिक बिरामी भएपनि अस्पतालसम्म लैजानका लागि पक्की सडकसम्म पु¥याउनै मुस्किल हुने गरेको सुर्नया गाउँपालिकाका स्थानीय  धनबहादुर विष्टको भनाइ छ।  बिना स्टमेट र अनावश्यक रुपमा ग्रामीण क्षेत्रमा डोजरले खनिएका सडकहरुले यहाँका गाउँगाउँमा पहिरोको जोखिम समेत बढाएको छ।