जानकी नेपाली टाउकोमा सेतो बाक्लो पट्टी बेरेर अस्पतालको बेडमा पल्टिरहेकी छन् । घरीघरी बर्बराउने उनको शरीरभरि छुरीले काटेका घाउ छन् । धेरैजसो घाउमा खाटा बसिसकेका छन् । कतिपय अझै आलै छन् । उनको जीउ सुकेर कडा कुपोषण लागेका बालबालिकाको जस्तो भएको छ ।
जिल्ला अस्पतालको बेडमा दुई वर्षको बच्चासहित छटपटाइरहेकी जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँकी २१ वर्षीया जानकीको चार दिनअघि मात्रै श्रीमान् मनोजले निर्घात कुटपिटपछि बायाँ कान काटिदिएका हुन् । मदिराले लट्ठिएका मनोजले एक आफन्तसँग दिउँसो किन हाँसेको ? भनेर उनलाई बुधबार कुटपिट गरेका थिए । ‘जे हातमा पर्यो त्यही सामानले कुट्यो, म ढलेपछि चक्कुले कान काटिदियो,’ उनले भनिन्, ‘त्यसपछि काटिएको ठाउँमा दाँतले चपायो अनि रगत चुस्यो । लास्टमा काटिएको कान मेरो हातमा दिँदै भोलि मेडिकल गएर जोडी माग्नु भन्यो र आफू भाग्यो ।’ अहिले उनको काटिएको कानको शल्यक्रिया भएको छ । शल्यक्रिया सम्पन्न भए पनि कान जोडिने/नजोडिने निश्चित नभएको चिकित्सकहरूले बताएका छन् ।
जानकीमाथि उनका श्रीमान्ले गरेको पाशविक हिंसाको यो पहिलो घटना भने होइन । १५ वर्षको उमेरमा ९ कक्षा पढ्दै गर्दा विवाह गरेकी उनले ६ वर्षको अवधिमा श्रीमान्को कुटाइका कारण पटक–पटक मृत्युशय्यामा पुग्नु परेको बताइन् । मनोजले विवाहको केही महिनापछि नै उनलाई यातना दिन सुरु गरेका थिए । सासूससुरा लगायत सबै परिवार भारतको बैंग्लोरमा बस्ने जानकी श्रीमान् र तीन छोराछोरीमात्रै घरमा बस्थे । उनका चार वर्ष, अढाई वर्ष र १६ महिनाका तीन सन्तान छन् ।
गाउँभन्दा अलि टाढा रहेको उनको घरमा श्रीमान्ले हरेक साँझ कुनै न कुनै बहानामा उनलाई यातना दिइरहन्थे । ‘जे हातमा पर्यो त्यही सामानले हान्थ्यो । शरीरभरि चुरोट बिँडीका ठूटा र अगुल्टाले पोल्थ्यो । पीडाले म बेहोस हुन्थेँ,’ पोलेका दाग देखाउँदै उनले भनिन्, ‘कुट्दा कुट्दा थाकेपछि आफैं शान्त हुन्थ्यो । भोलिपल्ट बिहान हिजो रक्सीको मातमा गल्ती गरिहालेँ भनेर माफी माग्थ्यो ।’ मनोजको घरमा बेलाबेला झगडा गरिरहने र परिवारमा सधैं किचलो भइरहने गरेको छिमेकी उमेश श्रेष्ठले बताए ।
निरन्तरको यातना सहन नसकेर आत्महत्या गर्न खोजे पनि बालबच्चाको माया लागेर मर्न नसकेको उनले बताइन् । दुई वर्षअघि ‘अब कुटपिट गर्दिनँ, भारत जाउँ’ भनेर फकाएर लगेको उनलाई एक वर्षसम्म अस्पताल भर्ना हुनुपरेको थियो । रक्सी खाएर आएको मनोजले सानो ग्यास सिलिन्डरले टाउकोमा हिर्काउँदा जानकी दुई महिनासम्म बेहोस भएकी थिइन् । ‘एक वर्ष उतै उपचार गराएर गएको माघमा बहिनीलाई घर ल्याएका थियौं,’ जानकीका दाजु गोविन्द नेपालीले भने, ‘पापीले फेरि यस्तो हालत गरिदियो ।’ मनोजले यौनसम्पर्कका बेला पनि अमानवीय यातना दिने गरेको कुरा बहिनीले आमासँग सुनाएको उनले बताए । ‘यौनसम्पर्क गरिसकेपछि यौनांगमा चुरोटले पोल्ने, चक्कुले काटेर यातना दिने गरेको रहेछ । बहिनीले यो कुरा हामीलाई भन्न नसकेर आमालाई सुनाएकी थिइन्,’ गोविन्दले भने ।
निरन्तरको यातना र टाउकोलगायत संवेदनशील भागमा परेको चोटका कारण जानकीको मानसिक अवस्थामै असर परेको चिकित्सकहरू बताउँछन् । मानसिक समस्याका कारण उनी एकोहोरो टोलाउने, झस्किने र अहिले भइरहेका घटनामा ध्यान केन्द्रित गर्न नसक्ने लगायत समस्या देखिएको छ । ‘जानकीलाई एन्जाइटी डिसअर्डर भएको देखिन्छ,’ जिल्ला अस्पताल प्रमुख डा. सन्दीप ओखेडाले भने, ‘लामो समय गम्भीर खालको यातना भोगेका कारण उनको दिमागमा वर्तमानमा भइरहेका घटना भन्दा विगतका घटना बढी स्मरण आउने भएकाले झस्किने र बिना कारण तर्सिने गरिरहेकी छन् ।’ लामो यातनाका कारण विक्षिप्त अवस्थामा रहेकी उनलाई मानसिक उपचार र परामर्शको खाँचो रहेको डा. ओखेडाको भनाइ छ । शृंखलाबद्ध रूपमा यातना भोगेकी भए पनि जानकीले हालसम्म कानुनी उपचार पाएकी छैनन् । भारतमा घटना भएका बेला उनका सासूससुराले छोराविरुद्ध भारतीय प्रहरीमा उजुरी गरे पनि कुनै कारबाही नगरी छाडिदिएको जानकीका दाजु गोविन्दले बताए । यस पटक पनि उनीहरूले प्रहरीमा उजुरी दिएका छन् । तर मनोजलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । पीडक नगरपालिकाभित्रै घुमिरहेको र फोन गरेर धम्की दिइरहे पनि प्रहरीले कारबाहीमा चासो नदेखाएको उनको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयले जानकीमाथि भएको हिंसाको घटनामा ठाडो उजुरी आए पनि जाहेरी नपरेको र पीडकको खोजी गरिरहेको बताएको छ । ‘ठाडो उजुरीमार्फत घटनाबारे हामी कहाँ जानकारी आएको छ,’ बझाङका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले भने, ‘हामीले पीडकको खोजी गरिरहेका छौं । मुद्दा नै लिएर आउनुस् हामी कारबाही अगाडि बढाउँछौं भनेका छौं ।’ उनले मुद्दा नै दर्ता गरेपछि अहिले नभए पनि कुनै बेला पीडकलाई गिरफ्तार गरेर कारबाही गर्न सकिने बताए ।
जानकीको घटना महिला अल्पकालीन सुरक्षित आवास गृहले हेरिरहेको र परामर्शपछि कस्तो मुद्दा दर्ता गर्ने भन्ने छलफल भइरहेको आवास गृहकी प्रमुख गीता शाहीले बताइन् । ‘अहिले पीडितको शारीरिक र मानसिक अवस्था ठीक नभएकाले हामीले मुद्दा दर्ता नगर्न सुझाव दिएका हौं,’ शाहीले भनिन्, ‘उनलाई अस्पतालबाट डिस्चार्ज गरिसकेपछि हामी काउन्सिलिङ गरेर कस्तो खालको मुद्दा हाल्ने भनेर सल्लाह दिने सोचमा छौं ।’
पीडित जानकीले भने मनोजसँग बस्दा जुनसुकै बेला पनि ज्यानको खतरा रहेकाले आफूलाई ६ वर्षसम्म दिएको यातनाको क्षतिपूर्ति, पीडकलाई कडा कारबाही हुनुपर्ने र बालबच्चाको भरणपोषणको व्यवस्था गरिनुपर्ने बताएकी छन् । ‘त्योसँग बस्दा मलाई जुनसुकै बेला पनि मार्न सक्छ । मलाई छुट्टै बसेर खाने व्यवस्था गरिदिनुपर्यो । त्यो पापीलाई कडाभन्दा कडा सजाय हुनुपर्यो,’ उनले भनिन् ।