बझाङको साइपालमा झोलुङ्गे पुल बनेपछि आउजाउ र ढुवानी गर्न सहज भएको छ । बिगतका बर्षमा ज्यान नै जोखीममा राखेर यात्रा गर्नुपर्ने बाध्यता अहिले भने हटेको स्थानीयले बताएका छन् । स्थनीयका अनुसार २०६८ सालमा साइपाल गाउँपालिकाकी ३५ वर्षीया देवि बोहोराको थरौनिघाट खोलाले बगाएर ज्यान गएको थियो ।
खोलामा काठेपुल (साँघु) हाल्ने क्रममा उनले ज्यान गुमाइकी थिईन् । साइपालका–३ का प्रभात बोहोरालाई पनि यही खोलाले बगाएर ५०–६० मिटर तल पुर्यायो । ढुङ्गामा अड्किएर उनको ज्यान भने जोगियो । अहिले खोलामा झोलुङ्गे पुल निर्माण भएपछि साइपाल गाउँपालिकाका बासिन्दालाई यो दुःखबाट छुटकारा मिलेको छ ।
‘चैनपुरबाट साइपाल फर्कने क्रममा खोलाले बगायो । झण्डै ६० मिटर जति बगाएपछि ढुङ्गामा अड्किएँ र बाँचेँ ।’ बोहराले भने, ‘अहिले पुल निर्माण हुँदा निक्कै खुसी लागेको छ । यहाँका स्थानीयलाई ठूलो राहत मिलेको छ ।’ खोलामा राखिएको काठेपुललाई हटाएर पूर्वाधार विकास कार्यालयले ५५ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेपछि स्थानीयलाई आवतजावतमा सहज उनको भनाई छ ।
झोलुङ्गे पुल बनेपछि साइपाल गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का नागरिकलाई खाद्यान्न ढुवानीसँगै आवतजावतमा सहज भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए । ‘तीन वटै वडाको मुख्य नाकामा झोलुङ्गे पुल निर्माण भएको छ ।’ धामीले भने, ‘आउजाउ र ढुवानीमा सहज हुने आशा छ । काँडा, न्युना र धलौनमा अब कहिल्यै खाद्यान्न अभाव हुँदैन भन्ने विश्वास छ।’
बर्खाको समयमा सुत्केरी महिला, बिरामीलाई अस्पताल लैजानुपर्दा गाउँका सबैको सहयोगमा खोला वारपार गर्नुपर्ने समस्या अन्त्य भएको साइपा गाउँपालिका ३ का वडा अध्यक्ष जंगवीर बोहोराले बताए । ‘सुत्केरी महिलालाई रेफर गरेर चैनपुरसम्म लैजानु परे खोला तार्नकै लागि गाउँका सबैजना जम्मा हुनुपथ्र्यो ।’ अध्यक्ष बोहोराले भने, ‘अब यो समस्याबाट तीन वटै वडाका नागरिकहरुलाई छुटकारा मिलेको छ।’