डडेल्धुराको अमरगढीमा स्वास्थ्य कर्मचारीको समायोजनमा मनपरी !
2021/08/14, 11:29
 
bb

डडेल्धुराको अमरगढी नगरपालिकाले कर्मचारी समायोजनमा मनपरी गरेको आरोप लागेको छ। नगरपालिकाले ज्येष्ठताको पालो मिच्दै कनिष्ठलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिएको आरोप लागेको हो।  अमरगढी नगरपालिकाका सिनियर अर्थात् वरिष्ठ (ज्येष्ठ) स्वास्थ्य कर्मचारी लोकराज पनेरूले आफूमाथि अन्याय भएको आरोप लगाएका छन्। २०५१ सालमा सरकारी सेवामा प्रवेश गरेको बताउँदै उनले आफूभन्दा दुई वर्ष जुनियर कर्मचारीलाई स्वास्थ्य शाखा प्रमुख जिम्मेवारी दिइएको बताए। 

आफूलाई घटाल स्वास्थ्य चौकी अमरगढी–३ मा समायोजन गर्दै अमरगढी नगरपालिकाले स्वास्थ्य शाखा प्रमुखमा छैटौं तहका जुनियर गणेश विष्टलाई राखेको उनले आरोप लगाए। पनेरूका अनुसार विष्ट २०५३ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए।  कर्मचारी समायोजन ऐन २०७५ को धारा ८ (२) को (क) अनुसार कर्मचारीलाई पदीय ज्येष्ठताका आधारमा समायोजन गर्ने प्रस्ट पारे पनि अमरगढी नगरपालिकाले भने त्यसविपरीत कर्मचारी समायोजन गरेको छ।

पनेरूले ३ वर्ष तत्कालीन जनस्वास्थ्य कार्यालयमा समेत काम गरिसकेका छन्। १९ माघ २०६९ देखि २० माघ २०७२ सम्म उनले जनस्वास्थ्य कार्यालयको बालस्वास्थ्य फाँटसमेत सम्हालिसकेका छन्।  तत्कालीन डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको निर्देशनमा स्वास्थ्य कार्यालयले २१ असार २०७४ मा अमरगढी नगरपालिकामा काजमा खटाएको थियो। सो समयमा प्रत्येक स्थानीय तहमा दुई÷दुई जना स्वास्थ्यकर्मी पठाउने नीति अनुसार विष्ट र पनेरूलाई अमरगढी नगरपालिकाको जिम्मेवारी दिइएको थियो।

सो पत्रमा संयोजक नतोकिय पनि ज्येष्ठ कर्मचारीको हिसाबमा पनेरू संयोजक र विष्ट सह–संयोजक भएर अढाई वर्ष कामसमेत गरेका थिए। पछि देश संघीयतामा गएपछि तीन जना कर्मचारीको नीति आयो। सुरुमा अमरगढीको स्वास्थ्य शाखा प्रमुखकका लागि चार जनाले आवेदन दिए।  तर, दुई जनाले फिर्ता लिइसके पश्चात विष्ट र पनेरूको उम्मेदवारी पर्‍यो। त्यसपछि उनलाई घटाल स्वास्थ्य चौकीमा खटाइएयो।

घटाल स्वास्थ्य चौकीमा खटिएको दिनदेखि विरोधका कार्यक्रम सुरु गरेका पनेरू विभिन्न निकायमा न्यायका लागि पुगिसकेका छन्। तर, आफ्नो कुरा कसैले नसुनेको उनको दुःखेसो छ। जिल्ला प्रशासन र जिल्ला समन्वयमा समेत न्यायका लागि उनको निवेदन पुगेको छ।  दुवै ठाउँबाट सत्यतथ्य छानबिन गरि आवश्यक कारबाहीका लागि नगरपालिकालाई आग्रह गर्दा पनि ‘टेर पुच्छर’ नलगाएको उनी बताउँछन्। आफूभन्दा जुनियर कर्मचारी आफ्नो कार्य अनुगमन गर्न आउँदा आत्मग्लानी हुने उनको भनाइ छ।

यस्तै चित्रा भट्ट उग्रतारा स्वास्थ्य चौकी पोखरामा कार्यरत छिन्। भट्टले पनि आफूमाथि अन्याय भएको बताइन्। अमरगढी नगरपालिकाको स्वास्थ्य शाखामा तीन जनाको दरबन्दी छ। दुई जना पारा मेडिक्स र एक जना नर्सिङ।  स्वास्थ्य शाखा नर्सिङ दरबन्दीमा आफ्नो पदस्थापना हुनुपर्नेमा त्यसो नगरेर भूमिराज स्वास्थ्य चौकीमा काजमा पठाएको उनी बताउँछिन्। त्यसपछि फेरि काजमा आफूलाई उग्रतारा स्वास्थ्य चौकीमा पठाएको उनको भनाइ छ।

‘पटक–पटक काजमा पठाइरहेको छ। जबकि काजमा एक महिनाभन्दा बढी स्वास्थ्यका कर्मचारी काजमा पठाउन मिल्दैन। र, तीन जनाको दरबन्दीमा एक जना विष्टले मात्रै काम गरिरहेको छ,’ उनले भनिन्, ‘मैले किन नपाएको? कोभिडको समयमा स्वास्थ्य कर्मचारीलाई जोखिम भत्ता दिने भने पनि ममाथि विभेद गरिएको छ।’  उता अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले विष्ट र भट्टको पदस्थापन आफूले गर्न नसक्ने बताए। उनले अब अब अदालतल दुवैलाई न्याय दिनसक्ने बताए।