कमेडी च्याम्पियनबाट कञ्चनपुरका हिक्मत बाहिरिए
2021/09/02, 9:52
 
aa

स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट हिक्मत महरा आउट भएका छन् । सेमिफाइनलको प्रस्तुतिमा दिएको भोटका आधारमा उनी आउट भएका हुन् । सुदूरपश्चिमको कञ्चनपुरका हिक्मत वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए ।

हिक्मत आउट भएसँगै भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा फाइनलमा प्रवेश गरेका छन् । यद्यपि, यसबारे कमेडी च्याम्पियन टिमले औपचारिक जानकारी भने दिएको छैन । तर, स्रोतका अनुसार हिक्मत शोबाट बाहिरिसकेका छन् । शो छायांकन भइसकेको छ ।

सेमिफाइनलमा बिक्कीले ‘पेन्टोमाइम’ प्रस्तुति दिएका थिए । उनको उक्त प्रस्तुति आफूले नबुझेको निर्णायक सन्तोष पन्तले बताउँदै दर्शकले पनि नबुझ्ने र भोट कम आउनसक्ने बताएका थिए । सोही अभिव्यक्तिका कारण उनको चर्को आलोचना भएको थियो । यद्यपि बिक्की फाइनल प्रवेश गरेका छन् । 

सोही श्रृंखलामा भरतमणिले पूर्व युवराज पारस शाह बनेर गरेको क्यारिकेचर लोकप्रिय बनेको थियो ।अब भोट माग्नका लागि प्रतिस्पर्धीहरु गृह जिल्ला जाँदैछन् । भरतमणि ताप्लेजुङका हुन् भने बिक्की सिक्कमका र सन्तोष गोरखाका कमेडियन हुन् ।

यसपटक केमडियनहरुलाई आआफ्नो जिल्काका नेताहरुले समर्थन गर्दै सामाजिक सञ्जालमार्फत भोट माग्दै आएका छन् । सन्तोषलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको, भतरमणिलाई पूर्वमन्त्री तथा एमाले नेता योगश भट्टराईको र बिक्कीलाई सिक्कमका मुख्य मन्त्री पीएस गोलेको साथ रहेको छ ।