सुुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्क्रब टाइफस, कालाजार, डेंगुलगायत रोगहका बिरामी बढेका छन् । सुदूरपश्चि प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दिएको तथ्यांकअनुसार साउन महिना यता मात्रै स्क्रब टाईफसका १९६ नयाँ बिरामी फेला परेका छन् ।
आर्थिक वर्ष २०७८-०७९ को साउन महिना यता कैलालीमा सबैभन्दा बढी ७७ जनामा स्क्रब टाइफस फेला परेको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी ओम जोशीले बताए । उनले कैलालीपछि दार्चुलामा ५४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको बताए । जसमा ६३ जना पुरुष र बाँकी १३३ जना महिला रहेको जोशीको भनाइ छ ।
त्यस्तै प्रदेशमा डेंगुका बिरामीसमेत फेला परेका छन् । साउन यता प्रदेश भरिमा २३ जना डेंगुका बिरामी फेला परेको जोशीले जानकारी दिए । उनका अनुसार कैलालीमामात्रै १४ जनामा डेंगु भेटिएको छ । त्यस्तै स्क्रब टाईफस र डेंगुसँगै यहाँ कालाजारका बिरामी पनि भेटिएका छन् । प्रदेशभरिमा २६ जना पुरुष र १३ जना महिला गरी ३९ जनामा कालाजार भेटिएको जोशीले जानकारी दिए । यस्तै कोभिड–१९ का ४११ जना संक्रमितसमेत साउन यता फेला परेका छन् । जसमा बझाङमा मात्रै २६८ जना रहेका छन् ।