सुदूरपश्चिममा ज्यान मार्ने उद्योगका घटना बढे
2021/09/14, 2:07
 
aa

सुदूरपश्चिम प्रदेशमा ज्यान मार्ने उद्योगका घटना बढेको पाइएको छ । सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीको तथ्यांकअनुसार विगत ४ वर्षमा ज्यान मार्ने उद्योगका घटना बढेको पाइएको हो ।

सुदूरपश्चिम प्रदेशमा चार वर्षको अवधिमा २८२ वटा जाहेरी ज्यान मार्ने उद्योगमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा ज्यान मार्ने उद्योग शीर्षकमा ४८ जाहेरी परेका थिए । यस्तै २०७५/७६ मा ७४,  २०७६/७७ मा ६९ र २०७७/७८ मा ९१ वटा जाहेरी ज्यान मार्ने उद्योगमा परेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–१२, दफा १८३ अनुसार कसैले कसैको ज्यान लिने उद्देश्यले त्यस्तो उद्योग गर्न नहुने व्यवस्था रहेको छ । ज्यान मार्ने उद्योग गरेको प्रमाणित भए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था उक्त दफामा छ ।

चार वर्षको अवधिमा २२४ कर्तव्य जानका जाहेरी परेका छन् । आर्थिक वर्ष २०७४/७५ मा यस प्रदेशमा ४९ जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै आव २०७५/७६ मा ५४, २०७६/७७ मा ५३ र २०७७/७८ मा ६८ वटा जाहेरी ज्यान मार्ने उद्योगमा परेका छन् ।

आत्महत्या दुरुत्साहनमा १०९ जाहेरी

मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अनुसार कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नसम्मको परिस्थिति ल्याउन नहुने व्यवस्था गरेको छ । यस्तो अपराध गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

तर, सुदूरपश्चिम प्रदेशमा आत्महत्या दुरुत्साहनका घटना बढ्दै गएको प्रहरीको तथ्यांकले देखाउँछ । मुलुकी अपराध संहिताको २०७५ साल भदौ १ गतेदेखि कार्यान्वयन भएपछि तीन वर्षको अवधिमा आत्महत्या दुरुत्साहनमा १०९ जाहेरी परेका छन् । यस्तै आर्थिक वर्ष २०७५/७६ मा यस शीर्षकमा २७ वटा जाहेरी परेका थिए । २०७६/७७ र २०७७/७८ मा ४१/४१ वटा आत्महत्या दुरुत्साहनका जाहेरी परेका छन् । मुलुकी अपराध संहिता जारी हुनुभन्दा पहिले नेपालमा आत्महत्या दुरुत्साहनलाई दण्डनीय अपराध मानिएको थिएन ।