दोधाराचाँदनी सुक्खा बन्दरगाह घोषणाको दशकपछि बल्ल थालियो ईआईएको काम
2021/09/15, 1:49
 
dd

१२ वर्षअघि २०६६ सालमा घोषणा भएको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक काम अघि बढाइएको छ । कुल १२ अर्ब प्रस्तावित बजेट रहेको दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकिकृत जाँच चौकी नाम दिइएको आयोजना कार्यान्वयनका लागि गठित नेपाल इन्टरमोडल यातायात विकास समितिले परामर्शदाता नियुक्त गर्दै काम थालिएको जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको उक्त समितिले गत भदौ १८ मा इडीआरसी (इन्भारोमेन्टल एण्ड रिसर्च सेन्टर प्रालि) काठमाडौँसँग एक वर्षको सम्झौता गर्दै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको काम सुरु गरेको हो । परामर्शदाता कम्पनी इडीआरसीको टोली ४ दिन अघि कञ्चनपुर पुगेर प्रस्तावित क्षेत्रको स्थलगत अध्ययन, निरीक्षण, प्रभावित क्षेत्रको अध्ययन तथा सरोकारवाला पक्षसँग छलफलमा जुटेको छ ।

इडीआरसीका वातावरण विज्ञ तथा दोधाराचाँदनी सुक्खा बन्दरगाह/संयुक्त जाँच चौकी वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी टोलीका नेता अनिल केसीले क्षेत्र निर्धारण प्रतिवेदन तयारीको कामका लागि कञ्चनपुर पुगेको बताए । ‘हामी दोधाराचाँदनी सुक्खा बन्दगाहको क्षेत्र निर्धारण प्रतिवेदन तयारीका लागि आइपुगेका छौँ, ’ केसीले भने, ‘यो अन्तरगत कुन काम कसरी हुँदैछ भनेर स्थानीयलाई जानकारी दिने, ठाउँ–ठाउँमा गएर जनपरामर्श गर्ने, जनप्रतिनिधि, वनका पदाधिकारीसँग पनि छलफल गरिरहेका छौँ ।’

सुक्खा बन्दरगाहका लागि प्रस्तावित दोधाराचाँदनी नगरपालिकाको मायापूरी र गौरीशंकर सामुदायिक वन क्षेत्रको पूर्ण रुपमा स्थलगत निरीक्षण समेत गरिसकेको बताउँदै केसीले क्षेत्र निर्धारण प्रतिवेदन र कार्यसूची बनाइने जनाए । वातावरण संरक्षण नियमावली २०७७ मा भएको व्यवस्थाबमोजिम प्रतिवेदन निर्माण गरेर इन्टरमोडल यातायात विकास समितिलाई बुझाउने कार्यभार आफूहरुको रहेको उनी बताउँछन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयबाट प्रतिवेदन स्वीकृत भएपछि बल्ल सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुल्ने इडीआरसीले जनाएको छ । सुक्खा बन्दरगाहको गुरु योजना यसअघि नै तयार पारिसकेको छ ।

सुक्खा बन्दरगाह मुलुककै विकासको मेरुदण्डः पूर्व उद्योग मन्त्री भट्ट

नेकपा एमालेका नेता तथा पूर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले दोधाराचाँदनीमा बन्न लागेको सुक्खा बन्दरगाह सुदूरपश्चिम मात्र नभएर मुलुककै विकासको मेरुदण्ड हुने बताएका छन् ।  नेपाल इन्टरमोडल यातायात विकास समितिले सुझाव संकलनका लागि मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टले सुदूरपश्चिमसँगै मुलुककै आर्थिक विकासमा मेरुदण्डको काम गर्ने भएकाले सुक्खा बन्दरगाह निर्माणमा सबै एक भएर लाग्नुपर्ने सुझाव दिए ।

पश्चिम भारतको औद्योगिक क्षेत्र दील्लीदेखि लिएर वरीपरी, गुजरात तथा पश्चिमा मुलुकसँग व्यापार गर्दा सबैभन्दा छोटो नाका समेत हुने भएकाले दोधाराचाँदनीमा सुक्खा बन्दरगाह राख्न सकिन्छ भन्ने सुझावकै आधारमा सरकारले प्रस्ताव गरेको उनी बताउँछन् ।  ‘सुदूरपश्चिम मात्र होइन देशकै समृद्धिका लागि यो महत्वपूर्ण आयोजना हो । पश्चिमा मुलुकसँग व्यापार गर्न सबैभन्दा छोटो दूरीमा पर्छ,’ भटट्ले भने, ‘सुक्खा बन्दरगाहलाई अघि बढाउनुपर्छ भनेर गम्भीर भएर म विगतदेखि सक्रिय थिए ।पछिल्लो पटक म उद्योग मन्त्री भएका बेला मन्त्रालयका अधिकारीहरुको सक्रियताले अहिले यो स्थानसम्म आइपुगेका छौँ ।’

मुलुककै समृद्धिसँग जोडिएको सुक्खा बन्दरगाहमा केही राजनीतिक व्यक्तिहरुलाई स्वार्थलाई केन्द्रबिन्दूमा राखेर खेल्न खोजेको देखिएको दाबी गर्दै भट्टले भने, ‘यसले देश र सुदूरपश्चिमको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले व्यक्तिका कसका के स्वार्थ छन् ? त्यो गौण विषय हो । विकासका काममा पार्टी र व्यक्ति भन्ने हुदैन् । यो सबैका लागि आवश्यक हुन्छ ।’  लेखराज भट्टले वाणिज्य तथा आपूर्ति मन्त्री भएका बेला २०७२ सालमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएका थिए ।सोही समयमा मन्त्रालयले अध्ययन समिति बनाएर प्रतिवेदन बुझाएको थियो । 

गत कात्तिकमा पनि उनी उद्योग मन्त्री भएका बेला दोधाराचाँदनीको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ भएको घोषणा गरेका थिए ।  गुरु योजनाअनुसार उक्त क्षेत्रमा सुक्खा बन्दरगाह स्थापना गर्न दुई सय ८० बिघा जग्गा आवश्यक पर्ने र त्यसको सुनिश्चितता भइसकेको दाबी मन्त्रालयको छ । दाोधारा चाँदनी सुक्खा बन्दरगाह भारतको गुजरातमा रहेको कान्ड्ला बन्दरगाहसँग नजिक भएकाले समेत महत्वपूर्ण मानिएको छ ।