निर्मला हत्याकाण्डजस्तै जटिल बन्दै डडेलधुराको अस्मिता हत्याकाण्ड
2021/09/16, 12:25
 
dd

डडेलधुराको जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कार्यालय सहयोगी २५ वर्षीया अस्मिता धामीको हत्या प्रकरणको अनुसन्धान जटिल बन्दै गएको छ । प्रहरीले अभियुक्तसम्म पुग्ने ‘क्लु’ फेला नपार्दा अनुसन्धान जटिल बन्दै गएको हो ।

गएको असार ५ गते उनी मृत अवस्थामा फेला परेकी थिइन् । असार २ गते बिहान जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्य सामग्रीहरू लिएर जोगबुढा अस्पतालमा बुझाउन हिँडेकी अस्मिता ५ गते परशुराम नगरपालिका–९ स्थित हट्टवानी सामुदायिक वनको जंगलमा मृत भेटिएकी थिइन् । उनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

तर, घटना भएको तीन महिना पुग्न लाग्दा पनि प्रहरी अभियुक्तसम्म नपुग्दा अस्मिता हत्या प्रकरण पनि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको अनुसन्धानजस्तै हुने हो कि भन्ने आशंका स्थानीयको छ ।

अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय डडेलधुराको टोली सक्रिय छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विक्र बहादुर चन्द अनुसन्धान सूक्ष्म ढंगले अगाडि बढिरहेको बताउँछन् । एसएसपी चन्दले भने, “हामी संवेदनशील भएर अनुसन्धानमा सक्रिय छौँ । अनुसन्धानका सबै कुरा भन्न पनि मिल्दैन । तर, प्रहरी जिम्मेवार भएर अनुसन्धानमा छ ।”

असार २ गते स्वास्थ्य सामग्री बोकेर हिँडेकी अस्मिता साँझसम्म सम्पर्कमा नआएपछि उनको खोजी गरिएको थियो । असार १ गते सो क्षेत्रमा ठूलो वर्षा भएको थियो । अस्मिता हत्याकाण्ड न्यायका लागि संघर्ष समितिका सदस्य जेबुवा धामी दोषीको पहिचान छिटोभन्दा छिटो हुनुपर्ने बताउँछन् ।

अस्मिताको शव भेटिएको स्थलनजिकै रक्सीको खाली बोतलसमेत फेला परेको थियो । प्रहरीका अनुसार असार ६ गते घटनास्थलनजिक अस्मिताले नाकमा लगाउने नथिया, कानमा लगाउने टप, दुईवटा दाँत र हड्डीको सानो टुक्रा फेला परेको थियो ।  यस्तै, असार ७ गते डेवरी खोलामा अस्मिताको शव भेटिएको स्थानभन्दा केही पर उनले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा फेला परेको थियो । उनको मोबाइलबाट पनि अनुसन्धानमा सहयोग पुग्ने तथ्य फेला नपरेको बताइन्छ ।

पोस्टमार्टम रिपोर्टबाट हत्याको कारण यकिन हुन सकेको थिएन । उनको शरीरबाट भेजिनल स्वाब र भिसेरा परीक्षणका लागि हड्डी निकालिएको थियो । असार ३ गते सोही गाउँका एकजनाले आत्महत्या गरेकाले हत्यामा उनकै संलग्नता हुन सक्ने आकलन प्रहरीले गर्दै आएको थियो । तर, प्रयोगशालामा भएका विभिन्न परीक्षणबाट अस्मिता हत्याकाण्डमा उनको संलग्नताको आधार पुष्टि हुने प्रमाण फेला नपरेको बताइएको छ ।