सिडिओ विहीन डोटी जिल्ला प्रशासनमा अधिकृत पनि अभाव
2021/09/21, 5:26
 
dd

जिल्ला प्रशासन कार्यालय डोटी प्रमुख जिल्ला अधिकारीविहन भएको दुई महिना पुग्न लागेको छ। साउन १० गते सरूवा भएर गएपछि नयाँ सिडिओ आएका छैनन्। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेकी छन्। उनले मन्त्रालयबाटै सिडिओ नपठाइएको बताइन्। जिल्ला प्रशासन कार्यालय डोटीमा उनी सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा गएको फागुन ११ गते आएकी थिइन्।

त्यसबेला प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई थिए। सरूवा भएपछि भट्टराई वैशाख १ गते रमाना लिएर गएका थिए। त्यसपछि सुनिल खनाल वैशाख ५ गते डोटीको प्रमुख जिल्ला अधिकारी भएर आएका थिए। उनी पनि तीन महिनामै सरूवा भए। साउन १० गते रमाना बुझेर उनी पनि काठमाडौं गएपछि  नयाँ सिडिओ आएका छैनन्।

जिल्ला प्रशासन कार्यालय डोटीमा प्रशासकीय अधिकृत पनि छैनन्।  साउन २८ गते प्रमुख प्रशासकीय अधिकृत रहेका मधुकृष्ण पौडेल रमाना लिएर गएपछि दरबन्दी रिक्त छ।  दुई जना प्रशासकीय अधिकृतको दरबन्दी नै खाली रहेको सहायक सिडिओ जोशीले बताइन्। ‘कर्मचारी पठाइदिन आग्रह गरेर गृह मन्त्रालयमा साउनमै पत्राचार गरिएको हो, जवाफ आएको छैन,’ उनले भनिन्।

सो कार्यालयमा नायब सुब्बाको ७ दरबन्दी रहेकोमा २ जनामात्रै कार्यरत रहेका छन्। यस्तै, ४ जना खडदारको दरबन्दी रहेको प्रशासन कार्यालयमा एक जनामात्र कार्यरत छन्।  कर्मचारीको अभावमा कामको बोध बढेको जोशीले बताइन्।