सुदूरपश्चिममा कांग्रेसको गाउँ तथा नगर अधिवेशन सम्पन्न (कहाँ को भए सभापति)
2021/09/26, 12:20
 
dd

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिममा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ । प्रदेशका अधिकंश जिल्लाका गाउँ तथा नगरमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो भने केहीमा निर्वाचन प्रणाली बाट कार्यसमिति चयन भएको हो । 
 

कञ्चनपुर
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरका ९ वटै स्थानीय तहमा शनिबार गाउँ–नगर अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट पुनर्वास नगर समितिमा शुकबहादुर तामाङ, बेलौरी नगर समितिमा पेपुराम चौधरी, लालझाडी गाउँ समितिमा श्रीकृष्ण राना, बेलडाँडी गाउँ समितिमा गजबहादुर बिष्ट, वेदकोट नगर समितिमा तुलाराम साहु र भीमदत्त नगर समितिमा अच्युतराज कलौनी सभापतिमा निर्वाचित भएका छन्।

त्यस्तै कृष्णपुर नगर समितिमा विष्णु खड्का, शुक्लाफाँटा नगर समितिमा दानबहादुर ऐर र दोधाराचाँदनी नगर समितिमा राजेन्द्र मल्ल सर्वसम्मत रूपमा निर्विरोध नगर सभापतिमा चयन भएका छन् ।  


डोटी
नेपाली कांग्रेसले डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका क्रममा चार पालिकामा सहमतिमा चयन भएको छ भने चार पालिकामा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छ । बोगटान फुडसिल गाउँपालिकामा सहमति जुट्न सकेको छैन ।

दिपायल सिलगढी नगरपालिकाको सभापतिमा गणेश मलासी चयन भएका छन् । सभापतिका आकांक्षीहरुबीच सहमति जुटेपछि मलासी निर्विरोध भएका हुन । उनी यसअघि पनि सोही पदमा थिए ।आदर्श गाउँपालिकाको सभापतिमा चन्द्रनाथ ओझा छानिएका छन् । एमाले पृष्ठभूमिका ओझा पाका राजनीतिज्ञ हुन् ।

उनी २०५४ सालको स्थानीय निकाय निर्वाचनमा एमालेको तर्फबाट तत्कालीन कालिकास्थान गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए । पूर्वीचौकी गाउँपालिकामा पनि सहमतिमा नेतृत्व चयन भएको छ ।

सभापतिमा बलबहादुर खड्का चयन भएका छन् । यसअघिको अधिवेशनमा जिल्ला सचिवमा पराजित खड्का र अन्य आकांक्षीहरुबीच सहमति जुटेपछि उनी निर्विरोध भएका हुन् । केआईसिंह गाउँपालिका सभापतिमा अर्जुन बलाएर निर्विरोध भएका छन् । यसअघि कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संघको डोटी जिल्ला अध्यक्ष रहेका बलायर सुजङ्ग सामुदायिक अस्पतालका प्रशासकको जिम्मेवारीमा समेत छन् ।

शिखर नगरपालिकाको इकाइ समिति सभापतिमा हर्क बोगटी विजयी भएका छन् । अन्य पदहरुमा सहमति भए पनि सभापतिमा कुरो नमिलेपछि निर्वाचन गरिएको थियो । निर्वाचनमा बोगटी प्रतिस्पर्धि दीर्घबहादुर बलायरलाई २५ मतले पछाडि पार्दै सभापति भएका हुन् । बोगटीले ९० मत प्राप्त गरे भने बलायरले ७५ ।

बोगटी यसअघि पनि सोही जिम्मेवारीमा थिए । सायल गाउँपालिका इकाइ समिति सभापतिका लागि भएको निर्वाचनमा तेजराज ओझाले ६१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनले प्रतिस्पर्धि रामबहादुर बोगटीले २५ मत प्राप्त गरे । ओझा यसअघि पनि सोही पदमा थिए ।जोरायल गाउँपालिकाको सभापतिमा मोहन मल्ल चयन भएका छन् । यसअघि पनि सोही जिम्मेवारीमा रहेका मल्लले निर्वाचनमा ५४ मत पाई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नरबहादुर बोहराले ३६ मत प्राप्त गरेका छन् ।

बडीकेदार गाउँपालिकाको नेतृत्व चयनका लागि पनि निर्वाचन भएको छ । गाउँ इकाइ समिति सभापतिमा करुणाकर जोशीले ४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी वीरेन्द्र कोटकेनीले ३५ मत प्राप्त गरेका छन् ।बोगटान फुडसिल गाउँपालिकाको नेतृत्व चयनमा अझै सहमति जुटेको छैन ।

अन्य पदहरुमा शनिबारै सर्वसम्मत भएका भए पनि सभापतिका लागि कुरो नमिलेपछि अधिवेशन लम्बिएको छ। सभापति पदका लागि शेरबहादुर बम, खडकसिंह बोहरा र चक्र केसीको दाबी रहेको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले जानकारी दिए । उनका अनुसार सहमतिको प्रयास अझै जारी छ, सहमति नभए चुनावी प्रक्रिया सुरु हुनेछ । 
 

डडेल्धुरा
डडेल्धुरा जिल्लामा पनि गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन भएको छ । जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाउपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ । बाँकी पाँच वटा तहमा निर्वाचन प्रणाली बाट अधिवेसन भएको छ। अमरगढी नगरपालिकाको नगर सभापतिमा खेमराज भट्ट निर्वाचित भएका छन्। त्यस्तै जिल्लाको नवदुर्गा गाँउपालिकामा भोजराज भट्ट गाँउपालिका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् भने उनीसंगै पुरै कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

अजयमेरु गाँउपालिकामा टेकराज पाण्डेय  सभापतिमा निर्वाचित भएका छन् । परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी निर्वाचित भएका छन् ।  गन्यापधुरा गाउँपालिका सभापतिमा ईन्द्र कार्की निर्वाचित भएका छन्। आलितालमा चन्द्रदेब बोहरा गाँउपालिका सभापतिमा विजय भएका छन्। भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी गाउपालिका सभापति निर्वाचित भएका हुन्।
 

बैतडी
बैतडीमा पनि नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको पालिका अधिवेशनबाट सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ।  यसैगरि शिवनाथ गाउँपालिकाको सभापतिमा हिरा चन्द चयन भएकी छिन् । पञ्चेश्वर गाउँपालिकाको कार्यसमिति पनि सर्व सम्मतिमै चयन भएको छ। गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द चयन भएका छन् ।

दशरथचन्द नगरपालिकाको कांग्रेस सभापतिमा भुवन राज भट्ट प्यानल सहित बिजयी भएका छन्।  पुर्चौडी नगरपालिकाको कांग्रेस सभापतिमा गणेश सिंह गडाल बिजय भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट प्यानलसहित बिजयी भएका छन्। मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट निर्वाचित भएका छन्।

जिल्लाको सिगास गाउँपालिकाको सभापतिमा कर्णबहादुर ऐर निर्वाचित भएका छन्। यसैगरि जिल्लाको डिलाशैनी गाउँपालिकाको सभापतिमा जयराज जोसी निर्वाचित भएका छन् ।