सुदूरपश्चिम प्रदेशको इन्चार्ज भीम रावलले नपाउने 
2021/09/27, 1:20
 
aa

माधव नेपाल समूहबाट एमालेमा फर्किएका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेशको इन्जार्ज नपाउने भएका छन् । रावलले १० बुँदे कार्यान्वयन अन्तरगत नै एमालेको पुरानो जिम्मेवारी यथावत राख्नुपर्ने भन्दै सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी मागेका थिए । 

रावलले राखेको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्दै लेखराज भट्टलाई दिएको जिम्मेवारी नखोस्ने अडान लिएपछि नेकपा एमालेमा फर्किएका १० जनासहित ५७ जनाको राजनीतिका विषयमा बहस सुरु भएको छ । एमाले सचिव योग भट्टराईले प्रचार विभागसहित प्रवक्ताको जिम्मेवारी फिर्ता पाइसकेका छन् ।

तर, रावलले भने पुरानो जिम्मेवारी नपाउने भएपछि त्यसले उनलाई ‘विच्काएको’ छ । उनी निकट स्थायी कमिटी सदस्यहरुले रावल मुढी नेता भएको भन्दै उनलाई जिम्मेवारी नदिए जस्तोसुकै निर्णय गर्ने भन्दै उनलाई राजन भट्टराईले सम्हाल्दै आएको विदे्श विभाग प्रमुख बनाउन प्रस्ताव गरेका छन् । ओली पक्षका नेताहरुले भट्टराईको जिम्मेवारी नखोस्न आग्रह गरिरहेका छन् । 

तर, नेपाल छोडेर आएकाहरुको समूहले भने ओलीलाई त्यसो गर्दा पार्टीमा द्वन्द्व व्यवस्थापन हुने सुझाएका छन् । “हुन त पार्टीमा फलानो जिम्मेवारी नभइ हुन्न भन्नु पनि उपयुक्त होइन,” नेपाल छोडेर एमालेमै बसेका एक स्थायी कमिटी सदस्यले भने, “तर, उहाँलाई विदेश विभाग दिँदा पार्टीलाई पनि राम्रै हुन्छ, रावलजीलाई पनि विभेद फिल हुँदैन भन्ने हाम्रो सुझाव छ ।”  उनले रावललाई जिम्मेवारी दिन अध्यक्ष ओली सहमत भए आजकै स्थायी कमिटी बैठकबाट निर्णय हुने जानकारी दिए ।