देशभर माओवादी केन्द्रका दुई लाख ८५ हजार व्यक्ति निर्वाचित हुने
2021/09/27, 5:51
 
dd

नेकपा माओवादी केन्द्रले गठन गरेको निर्वाचन आयोगले देशभरबाट दुई लाख ८५ हजार व्यक्ति निर्वाचित हुने जनाएको छ ।कैलालीको धनगढीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दैै आयोगले खुल्ला र समावेशी विधिबाट पार्टीको निर्वाचन भएर दुई लाख ८५ हजार भन्दा बढि व्यक्तिहरु निर्वाचित हुने जनाएको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले अहिले देशभरी नै समितिहरु निर्माण र निर्वाचन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै अब वडादेखि केन्द्रसम्म आन्तरिक निर्वाचनको माध्यमबाट नेतृत्व चयन गरिने उल्लेख गरे ।

‘पार्टी विधनमा भएको व्यवस्था अनुसार करिब दुई हप्ता अघि निर्वाचन आयोग गठन गरेको व्यहोरा यहाँहरुलाई थाहा छदैछ’, श्रेष्ठले भने, ‘ पार्टीले आयोगलाई पूर्णता दिएपछि पूर्ण बैठक बसेर हामीले कार्य सम्पादन नियमावली, निर्वाचन नियमावली र निर्वाचन आचारसंहिता २०७८ पारित गरिसकेका छौँ । आसन्न निर्वाचनलाई मध्यनजर गरेर १५ गतेसम्म सम्पूर्ण वडा, गाउँपालिका, नगरपालिका, प्रदेश स्तीयर निर्वाचन समिति गठन गरिसक्छौँ ।’

प्रदेश नम्बर १, बागमति, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भइसकेको आयोगले जनाएको छ । पार्टीके निर्वाचन सम्पन्न गर्न करिब ४० हजार स्वयंम सेवक परिचालन गरिने समेत बताइएको छ ।

पार्टी इतिहासमै माओवादी केन्द्रले स्वतन्त्र र स्वायत आयोग गठन गरेर पहिलो पटक आन्तरिक निर्वाचन सम्पन्न गरिरहेको बताउँदै अध्यक्ष श्रेष्ठले सबै तहमा ३५ प्रतिशत महिला,२० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिमको अनिवार्य सहभागिता गराइने व्यवस्था गरिएको जानकारी दिए ।