नेपाली काँग्रेस कैलालीका क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक
2021/09/29, 7:00
 
Kutpit

कैलाली जिल्लाको नेपाली काँग्रेसको क्रियाशिल सदस्यताको नामावली सार्वजनिक हुनुभन्दा एक दिन अघि नेपाली काँग्रेस कैलालीका सभापति नर नारायण शाह ‘मनु’ले आफ्नो तीन पुस्ता नेपाली काँग्रेसको राजनीतिमा भएको स्मरण गराउदै आफूलाई दण्डित नगर्न आग्रह गर्दै सामाजिक सञ्जालमा एउटा पोष्ट अपडेट गरे ।

No description available.आफूले सिफारिस नगरेका र काँग्रेसमा हावी हुने उद्देश्य सहित केही नेताहरुद्धारा राप्रपा, नेपाल समता पार्टी लगायतका नामबाट केन्द्रमा पहूँचका आधारमा सदस्यता थप्न लागेको जानकारी पाएपछि शाहको यस्तो पीडा मिश्रित पोष्ट आएको थियो । र शाह दुई दिन देखि निकै तनावमा थिए । उनले दुई दिन यता कसैको फोन रेस्पोन्स गरिरहेका थिएनन ।

खासगरी कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस कैलालीका पूर्व सभापति तथा पूर्व राज्यमन्त्री दीर्घराज भाटले एकलौटी ढंगले सदस्यता थपेको र सोही अनुसार क्रियाशिल सदस्यता सार्वजनिक हुदै गरेको चर्चा चलेपछि शाह तनावमा थिए ।

अन्ततः नेपाली काँग्रेस केन्द्रीय समितिले कैलालीको क्रियाशिल सदस्यता मंगलवार राति सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नामावलीमा भाटले दावी गरेका सदस्यहरु भने थपिएनन । जसले शाहलाई राहत भएको छ । भाटलाई भने ठूलो धक्का लागेको छ ।

कैलालीको क्रियाशिल सदस्यताको बिबाद टुंगिएको भनिएपनि राप्रपाबाट आएका सहमहामन्त्री सुनिल थापाले राप्रपाका पूर्व नेता तथा कार्यकर्ताहरुको नाम समावेश नगरिए बगावत गर्ने चेतावनी दिएपछि क्रियाशिल सदस्यको नामावली सार्वजनिक हुन सकेको थिएन ।

थापाले राप्रपाका पूर्व नेता आशाराम चौधरीले सिफारिस गरेका नाम क्रियाशिल सदस्यको सूचिमा थप्नु पर्ने अड्डी कसेका थिए । र आफूले भने बमोजिम सदस्य नथिएपछि राप्रपाका अन्य कार्यकर्ताको नाम पनि हटाउनु पर्ने थापाको भनाई थियो ।

मंगलवार सार्वजनिक गरिएको नामावलीमा थापाले भनेका राप्रपाका पूर्व नेता तथा कार्यकर्ताहरुको नाम समावेश छैन ।नेपाल समता पार्टीका नामबाट केन्द्रबाट थप्न खोजिएका नामहरु समेत अन्तिम समयमा क्रियाशिल सदस्यको सूचिबाट हटाईएका छन् ।

नेपाली काँग्रेस कैलालीको मंगलवार सार्वजनिक गरिएको नामावली नेपाली काँग्रेसको वेवसाईट www.nepalicongress.com मा राखिएको छ । www.nepalicongress.com वेव साईट लग ईन गरेर सुदूरपश्चिमको कैलाली भित्र प्रवेश गर्नुपर्नेछ । कैलालीको प्रतिनिधि सभा निर्बाचन क्षेत्र भित्र जानु पर्नेछ भने त्यहाँभित्र गएर प्रदेश निर्वाचन क्षेत्र छान्नु पर्नेछ । त्यसभित्र पनि पालिकाभित्र प्रवेश गर्नुपर्नेछ ।

पालिका भित्र गएपछि वडा नम्बर भित्र प्रवेश गर्नुपर्नेछ । यसरी वडा अनुसार क्रियाशिल सदस्य हेर्न सकिन्छ । क्रियाशिल सदस्य भित्र पनि नविकरण र नयाँ भन्ने अप्सन राखिएको छ । पुरानो सदस्यहरुको सूचि हेर्नेले नविकरण छान्नु पर्नेछ । र नयाँ हेर्ने चाहनेले नयाँ भन्ने अप्सन रोज्नु पर्नेछ ।