कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालका स्वकीय सचिव गणेशसिंह ऐरले सुत्केरी भत्ता समेत बुझेका छन् । हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनअनुसार ऐरले ५ हजार रुपैयाँ सुत्केरी भत्ता बुझेको पाइएको हो । करार कर्मचारीलाई करार सम्झौतामा तोकिएको भन्दा बढी सुविधा दिन नमिल्ने भएपनि कृष्णपुर नगरपालिकाले ऐरलाई सुत्केरी भत्ता दिएको छ । महालेखाले ऐरबाट उक्त रकम असुल गर्न नगरपालिकालाई निर्देशन दिएको छ ।
यसैगरी, कृष्णपुर नगरपालिकाको न्यायिक समितिमा नरहेका व्यक्तिले समेत बैठक भत्ता बुझेका छन् । नगरपालिकामा कार्यरत कर्मचारी प्रेमसिंह बोगटीले ५ हजार १ सय र पार्वती भण्डारीले ५ हजार १ सय गरि १० हजार २ सय रुपैयाँ लिएका छन् । उनिहरु न्यायिक समितिको ६ वटा बैठकमा सहभागी थिए । उनिहरुले लिएको रकम नगरपालिकालाई फिर्ता गर्न महालेखाले निर्देशन दिएको छ ।
कृष्णपुर नगरपालिकाका कर्मचारी र पदाधिकारीले भ्रमण भत्तामा ३ लाख २१ हजार ५ सय रुपैँया खर्च गरेका छन् । भ्रमण खर्च नियमावलीको नियम ३(४) अनूसुचि–१ मा भ्रमण आदेश स्वीकृत भएको कर्मचारीलाई मात्र दैनिक भ्रमण भत्ता वाफतको खर्च दिनुपर्ने व्यवस्था छ ।
तर, कृष्णपुरका कर्मचारी र पदाधिकारीहरुले भ्रमण आदेश स्वीकृत नगरि अध्ययन अवलोकन भ्रमण गरि भात्ता लिएका हुन । उक्त रकम भ्रमण भत्ता लिने पदाधिकारी र कर्मचारीबाट असुल गर्न महालेखाले नगरपालिकालाई भनेको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमाल र उपप्रमुख रमिता रानाले दोहोरो सञ्चार सुविधा लिएको पाइएको छ । महालेखाको प्रतिवेदन अनुसार नगर प्रमुख हमालले २ हजार र उपप्रमुख रानाले ३ हजार सञ्चार सुविधा बढी लिएका हुन् । उनिहरुले उक्त रकम नगरपालिकालाई फिर्ता गर्नुपर्ने छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारी र उपप्रमुख रानाले एउटै कार्यक्रममा दोहोरो भत्ता लिएको पाइएको छ । न्यायिक समितिको तालिममा प्रशिक्षक रहेका भण्डारी र सहयोगी रहेकी रानाले अनुगमन भत्ता समेत बुझेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।उनिहरुले ८ हजार ५ सय रुपैयाँ भत्ता लिएका थिए । अब दुबै जनाले उत्त रकम नगरपालिकालाई बुझाउनु पर्नेछ ।
सेवाग्राहीको सहजताका लागि सरकारी कार्यालयका प्रमुखलाई सरकारी सिम र मोबाइल दिइएको हुन्छ । तर, कृष्णपुर नगरपालिकाका प्रमुख शिवसिंह भण्डारीले सरकारी फोनको सदुपयोग गरेको पाइदैन । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सरकारी फोन रिसिभ नगर्ने गरेको सेवाग्राहीको गुनासो छ । भण्डारीले कार्यालयबाट पाएको मोबाइल नं. ९८५८७३२१११ मा पटक पटक फोन सम्पर्क गर्दा समेत रिसिभ भएन । कार्यकारी अधिकृत भण्डारीले फोन रिसिभ नगर्ने गरेको गुनासो प्रमुख जिल्ला अधिकारी समक्ष पनि पुगेको छ ।
नगरपालिकाका एक कर्मचारीका अनुसार कार्यकारी भण्डारी प्रमुख जिल्ला अधिकारीको समेत फोन रिसिभ गर्दैनन् । ‘केही दिन अगाडी प्रजिअले भण्डारीलाई फोन गरेका थिए,’ उनले भने, ‘तर उहाँले फोन नउठाएपछि सीडीओ सापले हामीलाई फोन गरेर उहाँलाई फोन गर्न लगाउनु भनेका थिए ।’