धनगढीमा जेष्ठ नागरिकलाई सम्मानित गरिएको छ। ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा उपमहानगरपालिको वडा नम्बर १५, १६ र १७ का दर्जन बढी जेष्ठ नागरिकहरू सम्मान गरिएको हो। जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले नगरभित्रका सम्पुर्ण जेष्ठ नागरिकहरूको अभिलेख राख्ने काम गरिरहेको बताए। उनले जेष्ठ नागरिकहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिएको बताए।
धनगढी उपमहानगरपालिका वडा नम्बर १५ ले आयोजना गरेको कार्यक्रममा सह–आयोजक बेहडाबाबा जेष्ठ नागरिक समाज रहेको थियो भने फाया नेपाल र राष्ट्रिय मानव अधिकार आयोगले सहकार्य गरेका थिए। कार्यक्रममा बेहडाबाबा जेष्ठ नागरिक समाजका सस्थापक अध्यक्ष गंगाराम चौधरीलाई मरणोपरान्त सम्मान गरिएको थियो। त्यस्तै १०४ वर्षीया रम्मा रानालाई समेत दोसल्ला ओढाएर मेयर वडले सम्मान गरेका थिए।
जेष्ठ नागरिक शंकरी रानाले जेष्ठ नागरिकलाई सम्मान गरेर स्थानीय सरकारले जेष्ठ नागरिकका लागि पनि सरकार रहेको अनुभूति गराएको बताउँदै आयोजकलाई धन्यवाद दिए। त्यस्तै जेष्ठ नागरिक पहिचान गर्ने उद्देश्यले प्रदेशमै पहिलोपटक ७० वर्ष भन्दामाथिका उमेर समूह भएको घरमा रातो झण्डा राख्ने काम समेत सोही कार्यक्रम गरिएको थियो।