बाढीले बगायो बझाङको बसपार्क, सदरमुकाम चैनपुर उच्च जोखिममा
2021/10/19, 11:59
 
aa

लगातारको वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि बझाङ बाढीको उच्च जोखिममा परेको छ । सेती, कालंगा नदी, र बाहुली खोला लगायतका साना ठूला खोलामा पानीको बहाव बढेको छ । जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । एक सुचना जारी गर्दै जिल्ला प्रसासन कार्यालयले नदीको बहाब बढेकाले काठ उतार्न, माछा मार्न र पानीसँग खेल्न, नदी खोला नजिक नजान आग्रह गरेको हो । प्रशासनले माछा मार्न तथा जरुरी कामबाहेक एक्लै नहिड्न पनि आग्रह गरेको छ ।

सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर उच्च जोखिममा छ । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको स्थानीय निरनराम जोशीले बताए । सेती र बाहुलीले सदरमुकाम आसपासको कतै न कतैको जमिन हरेक वर्ष कटान गर्ने गरेको जोशी बताउँछन् । बहुलीगाडले बेला–बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ ।

सदरमुकामको पूर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ । बाहुलीको वितण्डापछि सदरमुकाम बचाउन अभियान सञ्चालन भएर सेती नदी र बाहुलीगाडतर्फ तटबन्धन गरिएको छ । लगातारको वर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसीसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर  बसपार्क बगाएको छ ।

बाहुली खोलामा आएको बाढीले सदरमुकाम चैनपुरको खोलाछेउमा रहेका दुई वटा पोल्टी फर्म, बंगुर फर्म बगाएको छ ।विभिन्न ठाँउमा गएको पहिरोले सयौँ परिवार विस्थापित भएका छन् । बाढीका कारण लघु जलविधुत् आयोजना, नहर, विद्यालय, ग्रामिण सडकमा क्षती पुगेको छ । पहिरोले सयौँ रोपनी खेत बगाएको छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतीको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले बताए ।